एसीसी वुमन्स प्रिमियर कप: आज नेपालले माल्दिभ्ससँग खेल्दै

फाइल तस्वीर

काठमाडौं। नेपालले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा आज माल्दिभ्ससँग खेल्दैछ। खेल नेपाली समय अनुसार बिहान ११ स् १५ मा बाँगीमा सुरु हुनेछ।

समूह डी मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा रहँदै क्वाटरफाइनलमा पुगिसकेको छ। नेपाल अपराजित रहँदै क्वाटरफाइनल खेल्न चाहन्छ। सुरुआती दुवै हारका साथ माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको हुँदा नेपालसँगको खेल प्रतिष्ठाका लागिमात्रै हुनेछ।

नेपालले भुटान र हङकङ दुवैलाई समान ८ विकेटले हराएको थियो। माल्दिभ्स भुटानसँग ९४ रन र हङकङसँग १७२ रनले पराजित भएको थियो। हङकङकी मारिको हिल १०० र चान का यिंग केरीले ८७ रन बनाएका थिए।

तुलनात्मक रुपमा कमजोर माल्दिभ्समाथि नेपाल सहज जित हात पार्न चाहन्छ। नेपालका सीता रानामगर दुवै खेलमा अलराउन्डर प्रदर्शनका साथ प्लेयर अफ द म्याच चुनिएकी छिन्। त्यस्तै रुविना क्षेत्री र इन्दु बर्मा पनि राम्रो लयमा देखिन्छन्। कविता कुँवर नेपालकी प्रमुख तीव्र गतिकी बलर हुन्।

नेपालले क्वाटरफाइनल खेल्नुअघि आज मध्यक्रम र तल्लोक्रमका ब्याटरलाई मौका दिनसक्छ। १६ टोली सहभागी प्रतियोगितामा चार समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनल खेल्न पाउनेछन्। सेमिफाइनल हुँदै फाइनल पुग्ने दुई टोलीले एसिया कप खेल्न पाउनेछन्।