वैद्य,विप्लव र बाबुरामपछि माओवाद छाेड्दै प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान अधिवेशनमा तीनवटा विषय जोडदार रुपले उठे– पार्टीको नेतृत्व चयन पद्दती परिवर्तन, चुनाव चिन्ह परिवर्तन र पार्टीको नाम परिवर्तन।

केन्द्रीय समिति चयनलाई प्रत्यक्ष निर्वाचित गराउने निर्णय गरेपनि माओवादीले तत्कालै चुनाव चिन्ह र पार्टीको नाम परिवर्तन नगर्ने निर्णय गरेको छ।

यद्यपी माउपार्टीबाट फुटेर गएका सबै नेताहरुले माओवादलाई त्यागिसकेकाले उनिहरुलाई एक बनाउनका लागि प्रचण्डले पनि निकट भविष्यमै माओवाद छाड्ने कतिपयको आंकलन छ।

आफ्नो पहिलो विधान अधिवेशनमा छलफल गर्दा माओवादीका प्रतिनिधिहरुले पार्टीको नाम परिवर्तनका बारेमा पनि गहिरो विमर्श गरे।

पार्टी उपमहासचिव जनार्दन शर्माले अधिवेशन अगावै प्रस्तावित विधानको मस्यौदामाथि पूरक प्रस्ताव ल्याएर पार्टीको नाम परिवर्तन गर्ने विषय अगाडी सारेपछि यो विषय अझ बहसमा आएको थियो।

यद्यपी माहोवादीको विधान अधिवेशनलाई पार्टीको नाम परिवर्तन गर्ने अधिकार छैन। त्यसैले तत्काल पार्टीको नाम नफेर्ने निर्णय विधान अधिवेशनले गरेको छ।

१० बर्षे सशस्त्र जनयुद्ध गरेर संसदीय राजनीतिमा आएको माओवादी पार्टीलाई माओवाद अब घाँटीमा अड्किएको हाडजस्तो बनेको छ।

यसलाई निल्ने भन्दापनि ओकेल्ने कसरतमा माओवादी पंक्ती देखिन्छ । युद्धकालीन माओवादी माउपार्टीबाट विभाजित भएका नेताहरु सबैले अहिले माओविचारलाई कायमै राखे पनि माओवादी नाम भने छाडिसकेका छन् । विभाजित भएका शीर्ष नेताहरुकै नै माओवादीप्रति विकर्षण देखिन्छ।

१- डा. बाबुराम भट्टराईः

माओवादी नाम त्यागेको सालः २०७२

हालको पार्टीः नेपाल समाजवादी पार्टी ।

२-नेत्रविक्रम चन्द विप्लवः

माओवादी नाम त्यागेको सालः २०७३

हालको पार्टीः नेपाल कम्युनिष्ट पार्टी

३- मोहन वैद्य किरणः

माओवादी नाम त्यागेको सालः २०७९

हालको पार्टीः क्रान्तिकारी कम्युनिष्ट पार्टी।

४- पुष्पकमल दाहाल प्रचण्ड

माओवादी नाम त्यागेको साल २०७४

सर्वोच्चको परमादेशपछि फेरि २०७७ सालमा पुरानै नाम

हालको पार्टीः नेकपा माओवादी केन्द्र।

प्रचण्डले नेतृत्व गरेको पार्टीमा अब माओवादको कुनै चरित्र बाँकी नरहेको अधिकांशको विश्लेषण रहने गरेको छ। त्यसैले अझैपनि पार्टीको नाम माओवादी राखेर जनतालाई झुक्याउने धन्दा छाड्नुपर्ने जानकारहरु बताउँछन्।

जनयुद्धकालीन माओवादी पार्टी संसदीय राजनीतिमा प्रवेश गरेपछि २०६५ मा एकिकृत माओवादी र २०७३ सालमा नेकपा माओवादी केन्द्र बन्यो।

२०७५ जेठ ३ गते एमालेसँग एकता गरेर नेकपा बन्दा उसले आफ्नो नामबाट माओवादको अवशेष हटायो। एमालेसँगको विभाजनपछि फेरी माओवादी केन्द्रकै रुपमा छ । माओवादीकै अन्य घटकहरुले पनि माओवादी नाम हटाइसकेको अवस्थामा उनीहरुलाई फेरी एकतामा ल्याउने प्रयासस्वरुप प्रचण्डले पनि माओवादी नाम पुनः हटाउने निर्णय गरेमा आश्चर्य मान्नुपर्ने छैन।