त्रिवि उपकुलपतिको लागि अन्तर्वार्ता आइतबार हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका प्रतिस्पर्धीहरूको अन्तर्वार्ता आइतबार हुने भएको छ । छनोट तथा सिफारिस समितिले सर्ट लिस्टमा परेका १४ उम्मेदवारको अन्तर्वार्ता फागुन ६ गते (आइतबार) लिन लागेको हो ।

उनीहरूको अन्तर्वार्ता बिहान ८ः३० बजेदेखि सुरू हुने समितिले सूचनामार्फत जानकारी दिएको छ। विज्ञ र छनोट समितिका सदस्यहरूले अन्तर्वार्ता लिने छन्। उम्मेदवारहलाई बढीमा आधा घण्टाको समय दिएर अन्तर्वार्ता लिइने समितिले जनाएको छ।

त्रिविको उपकुलपतिको लागि आवेदन दिएका ४३ मध्ये १४ जना सर्ट लिष्टमा परेका थिए। सर्ट लिष्टमा परेका उनीहरूको माघ २९ गतेदेखि फागुन २ गतेसम्म सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण गरिएको थियो।

उक्त कार्य सकिएपछि समितिले अन्तर्वार्ता लिन लागेको हो। अन्तर्वार्तापछि समितिले त्रिविको उपकुलपतिका लागि तीन जनाको नाम कुलपति समक्ष सिफारिस गर्नेछ।