एसीसी महिला प्रिमियर कप: नेपाललाई हराउँदै मलेसिया फाइनलमा प्रवेश

फाइल तस्वीर

काठमाडौं । नेपाललाई हराउँदै घरेलु टोली मलेसियाले एसीसी महिला प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ।

सेमिफाइनलमा नेपाललाई ४ विकेटले पराजित गर्दै मलेसियाले एसीसी महिला एसिया कपमा पनि स्थान पक्का गरेको हो ।

बायुमास ओभलमा शुक्रबार सम्पन्न खेलमा जितका लागि १ सय १६ रनको लक्ष्य पछ्याएको मलेसियाले अन्तिम ओभरमा जित दर्ता गर्दै उपाधि भिडन्तमा स्थान पक्का गर्न सफल भयो। मलेसियाले १९.५ ओभरमा ६ विकेट गुमाएर आवश्यक रन जोड्यो।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएकी एल्सा हन्टरले अर्धशतक प्रहार गर्दै अन्त्यसम्म मलेसियालाई खेलमा कायम राखेकी थिइन् । उनले अन्तिम ओभरमा २ चौका प्रहार गर्दै जितसम्म पुर्याइन् । उनले ५३ बलमा ६९ रन जोडिन् । यसक्रममा उनले ६ चौका प्रहार गरेकी थिइन् ।

अन्तिम ओभरमा जितका लागि ११ रन चाहिएको अवस्थामा पहिलो र तेस्रो बलमा चौका प्रहार गरेकी एल्साले चौथो बलमा २ रन कुदिन् । पाँचौ बलमा १ रन जोड्दै मलेसियाले जित पक्का गर्यो ।

मलेसियाका लागि मास एलिसाले १३ र मरिया इस्माइलले १६ रन जोडे । वान जुलियाले ८ बलमा ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा स्कोर जोड्न सकेनन् ।

इस्माइल र हन्टरले ३६ रनको साझेदारी गर्दै मलेसियालाई बलियो स्थितिमा पुर्याएपनि कविताले इस्माइलको विकेट लिँदै नेपाललाई खेलमा फर्काइन् । तर त्यसपछि एल्साले इनिङ अघि बढाउँदै जित पक्का गरिन् ।

कविता जोशीले एकै ओभरमा २ विकेट लिँदा सीता रानामगरले २ तथा कविता कुँवर र रुविना क्षेत्रीले १९१ विकेट हात पारे ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १५ रन जोड्यो । नेपालका लागि कप्तान इन्दु वर्माले सर्वाधिक २९ रनको योगदान दिइन् । ओपनर कविता कुँवरले २३ तथा रुविना क्षेत्रीले २० रन जोडिन्। डली भट्टले १४ बलमा १ चौका र २ छक्कासहित २५ रनको योगदान दिइन्।

चौथो ओभरमा सीता रानामगर आउट हुँदा नेपाल १०९१ को स्थितिमा थियो । त्यसपछि इन्दु र कविताले ३५ रनको साझेदारी गरे । रन लिने क्रममा समन्वय नहुँदा कविता रनआउट भएकी थिइन् ।

त्यसपछि रुविना र इन्दुले तेस्रो विकेटका लागि ३१ बलमा ३३ रन जोडे । रुविना २ चौका प्रहार गर्दै क्याच आउट भइन् । इन्दु १८ औं ओभरमा ठूलो सट खेल्ने धुनमा स्टम्प्ड आउट भएकी थिइन् ।

नेपालले पछिल्लो खेलबाट टोलीमा दुई परिवर्तन गरेको छ । स्पिनर संगीता राई र उपकप्तान विन्दु रावल टोलीमा आएका छन् । अश्मिना कर्माचार्य र पुजा महतोलाई बाहिर राखिएको छ।

मलेसियाले अब फाइनलमा यूएईको सामना गर्नेछ । आज सम्पन्न निकै रोमान्चक सेमिफाइनलमा यूएईले ४ रनको जित दर्ता गर्दै प्रिमियर कपको फाइनलमा स्थान पक्का गरेको हो।