पार्टी छोड्ने लहरले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी रितिदै,यी हुन् पार्टी छोड्ने नेताहरु

फाइल तस्वीर

काठमाडौं । माधव कुमार नेपाल नेतृत्वमा बनेको नेकपा (एकीकृत समाजवादी पार्टी) गठन भएको २ वर्ष पूरा भइसक्यो। नेकपा एकीकृत समाजवादीले पार्टी पुनरगठन भएको दुई वर्ष पुगेको अवसरमा गत भदौ ९ गते पुनर्गठन दिवससमेत मनायो।

एमालेबाट विभाजित भइ बनेको पार्टी नेकपा एसले २०७८ भदौ ९ गते निर्वाचन आयोगबाट दर्ता प्रमाणपत्र पाएको थियो। त्यसयता नेकपा एकृकत समाजवादी आफ्नै ढंगले अघि बढी रहेको छ।

माधव नेपाल यही संसदको कार्यकालमा प्रधानमन्त्री बन्ने पालोसमेत कुरीरहेका छन् । गठबन्धनबाट नेकपा एसले एक आमनिर्वाचनको सामना पनि गरिसकेको छ।

गत वर्ष सम्पन्न आम निर्वाचनमा काँग्रेस, माओवादीसहितको गठबन्धनको साहारामा उसले प्रतिनिधिसभामा १० सिट जित हासिल गर्यो । तर उक्त पार्टी राष्ट्रिय दल बन्नबाट भने चुक्यो।

समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याउन नसक्दा भर्खरै जन्मिएको नेकपा एसले संसदीय राजनीतिमा ठूलै धक्का व्यहोर्नु पर्यो। तर पनि जसोतसो घस्रीरहेको नेकपा एकीकृत समाजवादीले आफूलाई प्रमाणित गर्न नसक्दा अझै संकट व्यहोर्नु परिरहेको छ।

पार्टीमा नेताहरु टिकिरहेका छैनन्। धरैजसो पदाधिकारीहरु अध्यक्ष नेपालले विभाजनको औचित्य नै पुष्टि गर्न नसकेको भन्दै एमालेनै फर्किरहेका छन्।

वरिष्ठ नेता, मुकुन्द न्यौपाने, उपाध्यक्ष केदार न्यौपाने र सचिव भागवत विश्वासीजस्ता पार्टीका ठूलै पदधारण गरेका नेताहरु समेत एमाले फर्कि सकेका छन्।

त्यस्तै गत मंगलबार मात्रै पार्टीका पोलिट्ब्युरो सदस्य प्रतापलाल श्रेष्ठ र केन्द्रीय कमिटी सदस्य शङ्करनारायण श्रेष्ठ आत्मआलोचना गर्दै एमाले प्रवेश फर्किए।

उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे। उनीहरुलाई स्वागत गर्दै ओलीले माधव नेपालको भ्रममा नफस्न भन्दै अन्य कार्यकर्ताहरुलाई समेत एमालेमा फर्कन सन्देश पठाएका छन्।

यसअघि सांसदसमेत भइसकेका एकीकृत समाजवादीका दर्जनौ नेताहरु एमाले फर्किसकेका छन् ।

यी हुन् एमाले फर्किएका नेकपा एसका जिल्ला अध्यक्षहरु

१-श्रीधर पोखरेल, मकवानपुर,

२-सुर्यचन्द्र न्यौपाने, मकवानपुर

३-हरि प्रसाद शर्मा, रुकुम पश्चिम

४-सुरमणी बेलबासे, दाङ

५-श्रीराम कार्की, तनहुँ

६-नरेश भण्डारी, गुल्मी

७-रमेश बस्नेत, रामेछाप

८-बिष्णु देवकोटा, रसुवा

९-सुन्दर विश्वकर्मा, बारा

१०-नन्दसिंह बुढा, डोल्पा

११-हिरण्ड भट्टराई, अछाम

१२-गगन रावल, बाजुरा

१३-आदिप्रसाद न्यौपाने, जुम्ला

१४-भोलानाथ पोखरेल, उपत्यका विशेष

त्यस्तै गतवर्षको प्रतिनिधिसभामा पराजित भएपछि नेकपा एसका सम्मानीत नेता झलनाथ खनाल पनि पार्टी गतिविधिबाट असन्तुष्ट रहँदै आएका छन्।

उनी पनि एमाले प्रवेश गर्ने बेलाबखत चर्चा चल्दै आएको छ। खनाल अझै पार्टीको सिद्धान्त र पछिल्ला निर्णयहरुप्रति असन्तुष्टि तीव्र जनाउँदै आएका छन्।उनी नेकपा एसले गलत बाटो लिएको भन्दै पार्टीकै चर्को विरोधमा उत्रिदैसमेत अइरहेका छन्।

विशेषगरी नेता खनाल इलाम क्षेत्र नम्बर २ बाट उपनिर्वाचनमा उम्मेदलवार बन्ने सर्तसहित एमाले प्रवेश गर्ने चर्चा चल्दै आएको छ। यद्यपि उनी एमाले फर्किहालेका भने छैनन्। तर उनले नेकपा एसभित्र असन्तुष्टि र एमालेसँग सामिप्यता राख्नुले भविष्यमा एमाले प्रवेश नगर्लान भन्न सकिने अवस्था छैन।

यसअघि नेकपा एस परित्याग गरेका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पनि खनाल एमाले प्रवेश गर्ने दावी गरेका थिए। यसरी हेर्दा नेकपा एसका नेताहरु एमाले प्रवेश गर्ने लहरै चलेको देखिन्छ।

केही पार्टी परित्यागको मुडमासमेत छन्। यसले नेकपा एकीकृत समाजावादीको आगामी भविष्य नै संकटमा पुगेको प्रष्ट छ।

सरकारमा सामेल नेकपा एसका सांसदहरुलेसमेत सन्तोषजनक कार्यप्रदर्शन गर्न सकिरहेका छैनन्। जसले पार्टीप्रति विकर्षण निम्त्याएको छ। यसले पालो कुरेर बसेका माधवको प्रधानमन्त्री बन्ने चाहनामा समेत ब्रेक लाग्न सक्छ।

नेकपा एसले एमालेसँग पार्टी विभाजन गरेको औचित्य गर्न नसके पार्टीको भविष्य अन्योल हुने पक्का छ। संगठनलाई मजबुद बनाई पार्टीको सिद्धान्तलाईसमेत देश र जनताको हितमा प्रत्यक्ष जोड्नेगरी नेकपा एस अघि बढ्नुपर्ने देखिन्छ। नत्र माधवको पार्टी हुर्काउने र यही कार्यकालमा प्रधानमन्त्री बन्ने सपना चकनाचुर हुने निश्चित छ।