वाफ च्याम्पियनसिप: सावित्राको पाँच गोलसँगै नेपालले इराकलाई सहजै हरायो

काठमाडौं। सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले ह्याट्रिकसहित पाँच गोल गरेपछि पश्चिम एशियाली फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपको बिहीबार खेलिएको खेलमा नेपाली महिला टोलीले इराकमाथि ५-० को सजिलो जित हात पारेको छ।

खेलको प्रारम्भदेखि नै नेपालले इराकलाई दबाबमा राखेको थियो। सावित्राले पहिलो हाफमा चार र दोस्रो हाफमा एक गोल गरेकी थिइन्। निर्धारित समयको १४औँ मिनेटमा पहिलो गोल गरिन्। त्यसको एक मिनेटपछि नै उनले नेपालको अग्रता दोब्बर बनाइन्।

सावित्राले खेलको ३६औँ मिनेटमा तेस्रो र ४३औँ मिनेटमा चौथो गोल गरेकी थिइन्। खेलको दोस्रो हाफमा पनि नेपालले एक गोल थपेको थियो। नेपालका लागि पाँचौँ गोल पनि सावित्राले नै गरिन्। उनले पाँचौँ तथा अन्तिम गोल निर्धारित समयको ७९औँ मिनेटमा गरेकी थिइन्।

आमन्त्रित टोलीका रुपमा सहभागिता जनाएको नेपालले जारी प्रतियोगितामा हासिल गरेको यो लगातार दोस्रो जित हो। लगातार दोस्रो जितसँगै नेपाली टोलीले सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ।

साउदी अरेबियामा जारी उक्त प्रतियोगितामा नेपाल, इराक, प्यालेस्टाइन र सिरिया समूह ‘बी’ मा रहेका छन्। यसअघि खेलिएको समूहगत चरणको आफ्नो पहिलो खेलमा नेपाली टोलीले सिरियालाई ४-१ गोलको फराकिलो अन्तरले हराएको थियो।

सिरियाविरुद्धको खेलमा नेपालका लागि अमिषा कार्की, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले एक(एक गोल गरेका थिए। नेपाली टोलीले समूहगत चरणको अन्तिम खेल शनिबार प्यालेस्टाइनसँग खेल्नेछ। तालिकामा ६ अंकसहित नेपाल पहिलो स्थानमा आसिन छ।

एक खेल खेलेको प्यालेस्टाइन तीन अंकसहित तालिकाको दोस्रो स्थानमा आसिन छ। सिरिया र इराकले भने खाता खोल्न सकेका छैनन्। प्यालेस्टाइनले आफ्नो पहिलो खेलमा इराकलाई ३-० गोलले हराएको थियो।

प्रतियोगिताको समूह ‘ए’ मा भने जोर्डन, लेबनन, साउदी अरेबिया र ग्वाम रहेका छन्। उक्त समूहबाट जोर्डन र लेबनन यसअघि नै नकआउट चरणमा पुगिसकेका छन् । यी दुबै टोलीले समूहगत चरणमा दुई/दुई जित हासिल गरिसकेका छन्।