स्वास्थ्य बीमा कार्यक्रम भ्रष्टाचारको माध्यम: सभामुख घिमिरे

काठमाडौं। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमा कार्यक्रम आफैँ भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन्।

राजनीतिक दल र जनप्रतिनिधिहरूको चेतनाको अभावका कारण सो कार्यक्रम पनि भ्रष्टाचारको माध्यम बन्न गएको उनको भनाई थियो।

राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले शनिवार संसद् भवनमा आयोजना गरेको नेपालमा क्यान्सर रोगको अवस्था र जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रियामा बोल्दै सभामुख घिमिरेले राजनीतिक दल र जनप्रतिनिधिहरूले मसिनोसँग ख्याल गर्ने हो भने त्यस्ता कार्यक्रमहरूमा हुने भ्रष्टाचारलाई नियन्त्रण गर्न सकिने स्पष्ट पारे।

उनले क्यान्सर जस्ता घातक रोग लाग्नै नदिने र चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने काममा राजनीतिक दल जनप्रतिनिधिहरूको भूमिका महत्त्वपूर्ण हुने बताए।

सभामुख घिमिरेले भने,अहिले हामीले स्वास्थ्य बीमा कार्यक्रम ल्याइसकेपछि मेरो अनुभूति के छ भने स्वास्थ्य जाँच गर्न जाने, बिरामी भएपछि अस्पताल जाने, त्यसले दिएको सुविधाअनुसार औषधि उपचार गर्ने यो प्रक्रियाका राम्रोसँग विकास हुन थालेको छ।

तर यसलाई व्यवहारमा लागू गर्ने सन्दर्भमा यति कठिनाइ छ कि यो नै एउटा भ्रष्टाचारको माध्यम बनिरहेको छ। स्वास्थ्य बीमालाई ठिक ढंगले प्रयोग गर्ने बारेमा जनप्रतिनिधि र राजनीतिक संघ, संस्थाहरूकै चेतना छैन।

सरकारले यो कसरी लागू गरिरहेको छ र यो भित्र भ्रष्टाचार कसरी हुनसक्छ?भन्ने कुराकै जानकारी छैन। यो जानकारी राजनीतिक दलहरूले आफ्ना प्रतिनिधिमार्फत अथवा जनप्रतिनिधिहरूले आम जनताको बिचमा यो स्वास्थ्य बीमा भनेको के हो?

र यो बीमालाई उपयोग गर्नका लागि हामीले अपनाइरहेका नीतिहरू के हुन् ? यो नीतिलाई कार्यान्वयन गरिरहँदा त्यस भित्र देखापरेका विकृतिहरू के हुन् ? यसको बारमा पनि मसिनोसँग तल जनताको बिचमा लगियो भने यी धेरै कुराहरू नियन्त्रण हुन सक्छन्।

जनतामा चेतनाको अभावमा त्यस्ता घातक रोगहरू लाग्ने भएको र त्यसलाई लाग्नै नदिने गरी जनप्रतिनिधिहरूले चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने सभामुख घिमिरले बताए। उनले क्यान्सर रोगको निदानका लागि आवश्यक ऐन, कानुन बनाउने कुरामा आफूले सक्दो सहयोग गर्ने आश्वासन समेत दिए।

कार्यक्रममा बोल्दै राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी थापा (रावल) ले स्वास्थ्य बीमा कार्यक्रम समेटी क्यान्सर रोगको उपचारको व्यवस्था मिलाउन सरकारलाई सचेत गराइन्।

क्यान्सर रोगको पीडाबाट मुक्त भएकी उनले किशोरीहरूलाई पाठेघरबिरुद्धको क्यान्सर अभियानलाई देशभर सञ्चालन गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले क्यान्सर रोग लाग्नै नदिने गरी ठोस कदम चाल्न प्रमुख दलका शीर्ष नेताहरूको ध्यानाकर्षण गराए।

उनले काठमाडौँ उपत्यकामा फोक्सोको क्यान्सर बढी हुने उल्लेख गर्दै त्यसमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न ढिलाइ गर्न नहुने पनि बताए।

सांसद सुवालले क्यान्सर रोगबाट गरिब बढी मर्ने भएकाले उनीहरूका लागि विशेषे सेवा, सुविधाको व्यवस्था गर्न पनि सरकारले गर्नुपर्ने बताए।