सशस्त्र प्रहरीको पोस्टमा आगलागी,हातहतियारसहित गोलीगट्ठा जलेर नष्ट

काठमाडौं। बारा जिल्लाको विश्रामपुर गाउँपालिकामा रहेको सशस्त्र प्रहरी फरवार्ड आउट पोस्ट (एफओबी)मा आगलागी भएको छ।

जिल्लाको विश्रामपुर गाउँपालिकाको बलिरामपुरमा रहेको सशस्त्र प्रहरीको एफओबीमा विद्युत् सर्ट भएर आगलागी भएको मधेस प्रदेश सशस्त्र प्रहरी प्रमुख दीपेन्द्र शाहले बताए।

उनले भने, आगलागीबाट के कति क्षति भयो भन्ने विस्तृत विवरण आउन बाँकी छ। तर सबै हातहतियार गोलीगट्ठासहित सबै सामान जलेर नष्ट भएको प्रारम्भिक जानकारी आएको छ। दिउँसो ३ बजेबाट सुरु भएको आगलागीबाट कुनै किसिमको मानवीय क्षति भने नभएको उनले जानकारी दिए।

एफओबीमा रहेको सबै हातहतियार,गोलीगट्ठासहित सबै कागजात तथा खाद्यान्न र लत्ताकपडा जलेर नष्ट भएको सशस्त्र प्रहरीले जनाएको छ। अहिले आगलागी नियन्त्रणमा आइसकेको सशस्त्र प्रहरी एफओबी बलिरामपुरले जनाएको छ।

कति हातहतियार तथा गोलीगगट्ठा क्षति भयो भन्ने यकिन विवरण अहिलेसम्म आउन नसकेको बलिरामपुर सशस्त्र प्रहरीको भनाइ छ।