नेकपाका महासचिव विप्लव अब समाजवादी पार्टी निर्माणमा

फाइल तस्वीर

काठमाडौं।नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव पछिल्लो समय चार दलीय समाजवादी मोर्चाको अध्यक्ष छन्। फागुन ६ गते बसेको मोर्चाको वैठकले विप्लवलाई अध्यक्ष चुनेको हो।

यसअघि दुई कार्यकाल अध्यक्ष रहेको नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले नै विप्लवलाई अध्यक्ष प्रस्ताव गरेका थिए। सत्तामा शक्तिको दाउपेचका रुपमा हेरिएको मोर्चाको अध्यक्ष बने लगत्तै विप्लवले विद्यार्थी संगठनको नाम पनि समाजवादी राखिसकेका छन्।

नेत्रविक्रम चन्द ‘विप्लव’ क्रान्तिको हुटहुटी देखाइरहने जुझारु नेता मानिन्छन्। तत्कालिन माओवादी युद्धका कमाण्डर एवम् प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डजस्तै कुनै न कुनै तिकडम गरिरहने नेता हुन्, विप्लव।

माओवादी शान्ति प्रक्रियामा आएलगत्तै प्रचण्डले पतनको बाटोमा गए भन्दै मोहन वैद्य ‘किरण’लाई अगाडि सारेर पार्टी फुटाए। तर वैद्यसँग २ वर्ष पनि सँगै रहेनन्। किरणदाइले क्रान्ति नगर्ने भए भन्दै छुट्टै पार्टी घोषणा गरे।

शहरका मध्यम वर्गबाट विद्रोह हुने भन्दै ‘एकीकृत जनक्रान्ति’को अवधारणा अघि सारे। वैद्यबाट छुट्टिएपछिको केन्द्रीय समिति बैठकबाट विप्लवले माओवादी नामप्रति नै अरुची राखे।

माओवादी बदनाम भएको भन्दै पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राखेर पछाडीको ‘माओवादी’ फुर्को हटाइदिए।

त्यसपछि राष्ट्रवादी आन्दोलन चर्काउने भन्दै एनसेल टावरमा बम हान्न थाले। उनको जनक्रान्तिको क्रममा ११ जनाले ज्यान गुमाउन गुमाए भने केहीले शरिरका अंगहरु गुमाउन पुगे। क्रान्तिका लागि हतियार खरिद गर्न भन्दै चन्दा आतंक मच्चाए।

नेता कार्यकर्तालाई समातिने मुद्दा लाग्ने क्रम बढेपछि पार्टी रित्तिदै गयो। कार्यकर्ता छुटाउन तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारसँग ३ बुँदे सहमति गर्दै भूमिगतबाट खुला राजनीतिमा उदाए। अहिले पार्टी सबै भन्दा धनी भएको स्वयम् आफैले बताउने गरेका छन्।

अझ रमाइलो त विप्लवले कही समयअघिदेखि आफूहरुको कुनै जात,धर्म, वर्ग नहुने भन्दै आफ्ना सबै पाटी कार्यकर्ताको नामको पछाडीे ‘सी’लेख्न लगाए । अहिले आफूलाई नेत्रविक्रम चन्द नभई बिप्लव सी भन्ने गरेका छन्।

केही समयअघि विप्लव सीले ‘प्रचण्डको महापतन’ भन्ने पुस्तक छपाए। तर उनी अहिले प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादव नेतृत्वको पार्टी सम्बन्ध समाजवादी मोर्चामा रहेर संविधानको रक्षा अभियानमा छन्।

सरकारको कामको प्रचारका लागि आयोजित मोर्चाको सन्देशसभामा समाजवादको दिशामा अघि बढेको विप्लवले भाषण गर्दै हिँडे।

माधव नेपालपछि मोर्चाको अध्यक्ष सम्हाले लगत्तै विप्लवले आफ्नो विद्यार्थी संगठनको २३ औं महाधिवेशनबाट संगठनको नाम नै अखिल समाजवादी राख्न लगाए।

अखिल क्रान्तिकारीको लामो इतिहास मेटाउँदै विद्यार्थी संगठनको नाम नै समाजवादी लेखाएका विप्लव बाबुराम भन्दा पनि अघि समाजवादी पार्टी बनाएर प्रचण्डसँग नजिकिने स्पष्ट संकेत गरेका छन्।