सुन तस्करीमा मुछिएका कलेज सञ्चालक जीवनकुमार गुरुङ पक्राउ

काठमाडौं। प्रहरीले सुन तस्करी प्रकरणमा जोडिएका प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङलाई पक्राउ गरेको छ।

डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङ सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन। दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धान क्रममा गुरुङ योजनाकार रहेको पाइएको थियो।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले गुरुङलाई पक्राउ गरेको हो। सीआईबीका प्रवक्ता एसपी होवीन्द्र बोगटीले गुरुङलाई काठमाडौँको सामाखुसीबाट पक्राउ गरिएको जानकारी दिए। गुरुङलाई भन्सार कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

अनुसन्धानमा विमानस्थलमा १४ किलो सुनसहित पक्राउ परेका चन्द्र घले र घलेले पोलेका मीनबहादुर घलेलाई जीवनकुमारले परिचालन गरेको खुलेको थियो। पर्वत स्थायी घर भएका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए।