न्युजिल्याण्ड र कतार पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं। न्युजिल्याण्ड पठाइदिन्छु भन्दै १२ लाख ७० हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-४ चन्डोल बस्नेहरू लमजुङ दोर्दी गाउँपालिका-७ घर भएका ३० वर्षीय रेशम गुरुङ र ३० वर्षीय गंगा गरूङ रहेका छन्।

उनीहरूले १ जनालाई वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख ५० हजार रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं चन्डोलबाट पक्राउ गरेको हो।

यस्तै कतार पठाइदिन्छु भन्दै २ लाख ७० हजार रुपैयाँ ठगी गरेको अभियोगमा टोखा नगरपालिका-९ बस्ने ३५ वर्षीया रोशनी राणालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

राणाले १ जनालाई वैदेशिक रोजगारीका लागि कतार पठाई प्रतिष्ठित कम्पनीमा मासिक ७० हजार रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ फैकाबाट पक्राउ गरेको हो।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।