संसद् भवनमा खटिएका ३२ सुरक्षाकर्मीको जिम्मेवारी खोसियो

काठमाडौं। नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी निरीक्षकसहितको टोलीलाई प्रहरी प्रधान कार्यालय,नक्सालले एकैसाथ जिम्मेवारीबाट हटाएको छ।

लघुवित्तका ऋणीहरुको टोली संसद् भवन परिसरभित्र प्रवेश गरेपछि गृह मन्त्रालयको नेतृत्वमा संसद् भवन परिसरमा खटिएको सुरक्षा टोलीलाई हटाइएको हो।

प्रहरी उच्च स्रोतका अनुसार,यसरी जिम्मेवारीबाट हटाइनेमा इन्स्पेक्टरसहित ३२ जना छन्। उनीहरुको ठाउँमा नयाँ टोली समेत पठाइसकिएको स्रोतले बतायो।

सोमबार दिउँसो भएको घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाइसकेको छ। समितिमा काठमाडौं प्रहरीका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालय,रानीपोखरीका डीएसपी दिनेश घिमिरे सदस्य छन्।

निषेधित क्षेत्र पार गरेर संसद् भवनभित्र छिरेको आरोपमा प्रहरीले ४९ जना लघुवित्त पीडितलाई नियन्त्रणमा लिएको छ। यसपछि सभामुख देवराज घिमिरेले पनि प्रहरी प्रमुख वसन्त कुँवरलाई फोन गरेर चासो राखेका थिए।