सिन्धुपाल्चोक काँग्रेस उपसभापति दोर्जेको अश्लील गाली र ज्यान मार्ने धम्की पछि लम्सालद्वारा पार्टी त्यागको घोषणा

काठमाडौं। नेपाली काँग्रेस सिन्धुपाल्चोक,सुनकोशी गाउँपालिका क्षेत्रीय प्रतिनिधि शारदा लम्सालले पार्टी त्यागेकी छन्। उनले काँग्रेसको साधारण सदस्यसमेत नरहनेगरी आजबाट पार्टी परित्यागको घोषणा गरेकी हुन्।

विज्ञप्ति जारी गर्दै उनले पार्टी छोड्नुको कारण काँग्रेसको जिल्ला उपसभापति दोर्जे लामा (हाउडे) भएको बताएकी छन्। लामाले आफू र आफ्नो परिवारलाई फोन गरेर ज्यान मार्ने धम्की दिएको उनको आरोप छ।

‘सम्बन्धित विषयमा सिन्धुपाल्चोक जिल्ला नेपाली काँग्रेसका जिल्ला उपसभापति पदमा रहेका दोर्जे लामा (हाउडे) भन्ने व्यक्तिले मेरो परिवारका सदस्य विवाह समारोहबाट फर्कँदै गर्दा दिनको ४ः५० बजे फोनमार्फत सुन्न पनि नसकिने प्रकारको अश्लील अपशब्द बोली ज्यान मार्ने धम्की दिनुभएको छ।

समाज परिवर्तन गरी देश अनि समाजको आमुल परिवर्तन गर्छु भनी सार्वजनिक पद धारण गरी एउटा राष्ट्रिय पार्टीको उपल्लो पदमा रही आफ्नै पार्टीको सदस्यको परिवारलाई बिनाकारण ज्यान मार्ने धम्की दिने,सुन्न पनि नसकिने प्रकारका अश्लील अपशब्द बोल्ने,अपराधिक मानसिकता भएको व्यक्तिको कारण हाम्रो सम्पूर्ण परिवार हाल मानसिक पीडामा रहेका छौं,विज्ञप्तिमा उल्लेख छ।

लामाका कारण काँग्रेसको छवि कलंकित बन्ने बताउँदै लम्सालले उनलाई अविलम्ब अनुशासनको कारबाही गर्न पार्टीसँग माग गरेकी छन्। त्यस्तै,उनले उनीउपर कानुनी कारबाहीका लागि सम्बन्धित निकाय गुहार्ने चेतावनी दिएकी छन्।