बाबुरामको पार्टी फेरि फुट्यो: महिन्द्र राय समूहले माओवादीसँग एकता गर्ने

काठमाडौं । जनता समाजवादी पार्टीबाट छुट्टिए डाक्टर बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी (नेसपा)फुटेको छ।

पार्टीका अध्यक्ष महिन्द्र राय यादव समूहले पार्टी फुटाएर नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको हो।

बाबुराम भट्टराईलाई पनि सहभागी गराउने प्रयास असफल भएपछि नेसपा फुटाएर महिन्द्र रायले माओवादीसँग एकता गर्ने सहमति गरेका हुन्।

माओवादीका अध्यक्ष प्रचण्डको अध्यक्षतामा आज बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने सहमति गरेको छ।

बैठकले एकीकृत पार्टीको नाम भने आगामी महाधिवेशनबाट टुंगो लगाउने निर्णय गरेको छ।

साथै, पार्टी एकताका लागि वैचारिक एकरुपता र संगठनात्मक तयारीका लागि कार्यदल पनि गठन गरेको छ।

कार्यदलमा माओवादीको तर्फबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपाबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव रहेका छन्।