माओवादीसँग एकता सम्भव छैन: अध्यक्ष डा.भट्टराई

फाइल तस्वीर

काठमाडौं। नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले माओवादीमा जान चाहेकाहरुलाई कारबाही नगर्ने बताएका छन्।

अर्का अध्यक्ष महिन्द्र राय यादवसहितका नेताहरुले शनिबार मात्र माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेका थिए। लगत्तै भट्टराई पक्षले बैठक राखेर उनीहरुलाई पदमुक्त गर्ने निर्णय गरेको छ।

बैठकका निर्णयहरु सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा भट्टराईले ७० प्रतिशत केन्द्रीय कार्यकारिणी सदस्य आफूहरुसँग रहेको बताए।

उनीहरुको पक्षमा ४० प्रतिशत नपुगेका कारण सांसद पद जोगाउन सकस परेको भन्दै उनले पद नखोस्ने आश्वासन समेत दिए।

उनले भने,मैले साथीहरुलाई पनि भनेको छु, तपाईंहरु जानुस्,तपाईंहरुको सांसद पद खोस्न मुद्दा मामिला गर्दैनौं,मैले त प्रचण्डजीलाई पनि म्यासेज पठाएको छु। उहाँहरुले मरिहत्ते गरेपछि भित्र्याउनुस्,किन यस्तो रडाको गरेको।

उनले सत्तारुढ नेकपा (माओवादी केन्द्र)सँग एकताबारे कहिल्यै नसोचेको दाबी गरे। उनले भने, नयाँका नाममा पुरानोतिर फर्किने कुरा हुँदैन।

लोकतन्त्रमा आधारित समाजवाद र समाजवादउन्मुख अर्थतन्त्र भन्ने कुरालाई कार्यान्वयन गर्ने शक्ति निर्माण गर्न खोजेका हाैँ, त्यसबाहेक हामीले अरु सोचेका छैनौँ। पुराना दलहरूसँग एकताबारे सोचिएको छैन।

भट्टराईले पार्टीकै कतिपय नेताहरूको पछिल्लो अराजनीतिक गतिविधिका कारण पुरानाभन्दा नयाँ दल किन फरक भन्ने गम्भीर प्रश्न उठेको पनि बताए।