प्रतिनिधि सभाको बैठक आज बस्दै,यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं। प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे बस्न लागेको हो।सभामुख देवराज घिमिरेको विदेश भ्रमणका कारण १० दिनपछि बस्न लागेको बैठकमा झन्डै आधा दर्जन सम्भावित कार्यसूची छन्। यद्यपि सम्भावित कार्यसूचीमा सभामुखले केही हेरफेर पनि गर्न सक्ने छन्।

संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सुरुमा सभामुख घिमिरेले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने छन्।

त्यसपछि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन ९आईएसए०को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।

व्यवस्थापन कार्यतर्फ अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो संशोधन विधेयक २०८० प्रस्तुत गर्ने र भन्सार विधेयक २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।

यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले निर्माणमुखी सामग्री व्यवस्थापन तथा नियमन विधेयक २०८० दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची समेत छ।