गृहमन्त्री लामिछाने र मेयर बालेनबीच भेटवार्ता

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहसँग भेटवार्ता गरेका छन्।

बुधबार दिउँसो महानगरपालिकाको सहकारी विभागले गृहमन्त्री पत्नी निकिता पौडेल आबद्ध साई स्वागत सहकारीमा छापा मारेको थियो। सोही समयमा गृहमन्त्री लामिछानेले मेयर बालेनलाई कार्यकक्षमा बोलाएर भेटेका हुन्।

मेयर बालेनको सचिवालयले गृहमन्त्री लामिछानेसँग समसामयिक विषयमा भेट गरेको जनाएको छ।महानगरको विषयमा छलफल भयो,ठमेल लगायत क्षेत्र चौबिसै घण्टा खोल्ने विषयमा पनि छलफल भएको थियो। गृहमन्त्रीकै निमन्त्रणमा भेट भएको हो,सचिवालयका एक सदस्यले भने।

महानगरपालिकाले गृहमन्त्री पत्नी आबद्ध सहकारीमा छापा मार्नु र मेयर बालेनले गृहमन्त्री भेट्नुमा कुनै अन्तरसम्बन्ध नरहेको ती सचिवालय सदस्यले दाबी गरे।

‘सहकारी विभागमार्फत अनुगमन, नियमन हुने कुरा मेयरले याद गरिरहने कुरा पनि भएन, हिजै त्यहाँ अनुगमन छ भन्ने थाहा पनि थिएन,ती सदस्यले भने, ‘नयाँ सरकार आएपछि राजधानीको मेयर भेट्ने कुरा भइहाल्यो। हिजोको संयोग मात्रै हो।

अनुगमन समितिका एक सदस्यका अनुसार २०७६र७८ मा निकिता पौडेल उपाध्यक्ष हुँदा उक्त सहकारीको महत्वपूर्ण कागजात फेला परेको थिएन ।

काठमाडौं महानगरपालिकाले गृहमन्त्री लामिछानेकी पत्नी निकिता पौडेल निवर्तमान उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारीमा छापा मारेको थियो।

महानगरपालिकाको सहकारी विभागले लामो समयदेखि बचतकर्ताको उजुरीका आधारमा ‘रेकी’ गरिरहेको सहकारीमा बुधबार विभागका कर्मचारी, महानगर प्रहरी सहित टोलीले छापा मारेको थियो।

महानगर अनुगमन टोलीका एक सदस्यका अनुसार बिजुलीबजारमा रहेको सहकारी कार्यालयबाट पछिल्लो साधारणसभाको उपस्थिति निर्णय सहित माइन्युट, सहकारीबाट ऋण लिने ऋणीको विवरण,बचतकर्ताको विवरण ल्याइएको छ।

यस्तै धेरै ऋण लैजाने ऋणी,सञ्चालक समितिका सदस्यहरूको विवरण पनि टोलीले ल्याएको छ। सहकारीको सफ्टवेयर सिस्टम पनि महानगरको टोलीले ल्याएको छ।