कारागारभित्र १० वर्षमा ६२७ जना कैदीको मृत्यु

काठमाडौं। कारागारभित्र १० वर्षमा ६२७ जना कैदीको मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएको छ। प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार पछिल्लो १० वर्षको अवधिमा ६ सय २७ कैदीबन्दीले ज्यान गुमाएको देखिएको छ। आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७९/८० सम्मको अवधिमा ६२७ कैदीबन्दीले ज्यान गुमाएका छन्।

त्यसमा पनि सबैभन्दा बढी काठमाडौं उपत्यकाको कारागारमा कैदीबन्दीले ज्यान गुमाएका छन्। काठमाडौं उपत्यकाको डिल्लीबजार कारागार, केन्द्रीय कारागार सुन्धारा र ललितपुरको नख्खु कारागारका २९४ कैदीको मृत्यु भएको प्रहरीको तथ्यांक छ।

उपत्यकाकै कारागारमा सबैभन्दा बढी मृत्युको दर हुनुमा उपचार नै नपाएर भन्दा पनि कालगतिले मृत्यु भएको बुझ्नु पर्ने दाबी कारागार व्यवस्थापन विभागका निर्देशक समेत रहेका प्रवक्ता कमलप्रसाद पाण्डेले दाबी गरे।

‘उपत्यकामा अस्पतालको खाँचो हुने भएन। पुर्‍याउन पनि समय लाग्ने भएन। यति हुँदा पनि मृत्युको दर बढी हुनुलाई स्वाभाविक मृत्युसँग जोडेर हेर्नुपर्छ,पाण्डेले भने।

त्यसपछि सबैभन्दा बढी कोशी प्रदेश अन्तर्गतका कारागारमा १५५ जना कैदीबन्दीको मृत्यु भएको छ। कोशी प्रदेशका १४ कारागारमध्ये पनि मोरङ कागारमा बढी कैन्दीबन्दीको मृत्यु भएको पाइएको छ।

मोरङमा २०७८ सालमा एक वर्षको अवधिमा मात्रै १९ जना कैदीबन्दीको मृत्यु भएको थियो। मतृक एक कैदीबन्दीको पनि पोष्टमार्टम नभएको भन्दै त्यतिबेला कारागार प्रशासनको आलोचना समेत भएको थियो।

त्यसैगरी पछिल्लो १० वर्षको अवधिमा बागमती प्रदेश अन्तर्गतका कारागारमा रहेका ६१ जना कैदीबन्दीले ज्यान गुमाएका छन्।

मधेश प्रदेश अन्तर्गतका कारागारमा रहेका ५० जना, लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाका कारागारहरुमा २९ जना, गण्डकी प्रदेश अन्तर्गत जिल्लाका कारागारहरुमा १२ जना,सुदूरपश्चिम प्रदेश अन्तर्गतका जिल्ला कारागारका ६ जना र कर्णाली प्रदेश अन्तर्गत जिल्लाका कारागारहरुमा २ जना गरी पछिल्लो १० वर्षको अवधिमा ६२७ कैदीबन्दीको मृत्यु भएको पाइएको छ।

मृत्यु भएकामध्ये १८ जना महिला र ६०९ जना पुरुष छन्। उनीहरु मध्ये केहीको हत्या भएको छ भने केहीको कालगतीले मृत्यु भएको बताइएको छ।