गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्छ: नेता प्रकाशमान सिंह

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सहकारीको रकम अपचलनको विषयमा प्रश्न उठेकाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने बताएका छन्।

बुधबार बिहान बुद्धनगरमा आयोजित एक कार्यक्रममा उनले राजीनामा दिएपछि संसदीय छानबिन समितिले निकाल्ने निष्कर्षका आधारमा अघि बढ्नुपर्ने बताए।

बजेट निर्माणको क्रममा विवादमा मुछिएका पूर्वअर्थमन्त्री जनार्दन शर्माले पनि पदबाट राजीनामा दिएको र संसदीय छानबिन समितिले सफाइ पाएपछि पदमा फर्किएको भन्दै उनले रविलाई पनि राजीनामा दिएर छानबिनमा सघाउन सुझाव दिए।

सहकारीको रकम अपचलनको विषयमा जोमाथि शङ्का भइरहेको छ,उही हाकिम भएर बस्न मिल्छ र? नेता सिंहले भने,शङ्का उठिसकेकाले छानबिन गर्नुपर्‍यो नि त।

कांग्रेसलाई संसदीय अभ्यास थाहा भएको भन्दै सहकारी प्रकरणमा संसदीय छानबिन समितिका लागि संसद् अवरोध जारी राखेको बताए । कांग्रेसलाई कसैले संसदीय पाठ नसिकाउन समेत उनले चेतावनी दिए।