आजदेखि देशैभर विद्यार्थी भर्ना अभियान सुरु

काठमाडौं । आजदेखि नयाँ शैक्षिकसत्रका लागि देशभर विद्यार्थी भर्ना अभियान सुरु गर्दैछ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थी भर्ना अभियान सहजीकरण कार्ययोजना तयार गरी कार्यान्वयनका लागि स्थानीय तह र अन्य सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

अभियानको पहिलो दिन आज सबै स्थानीय तहका शिक्षा प्रमुख, एकाइ प्रमुख, नगरपालिका महासंघ, गाउँपालिका महासंघ, मन्त्रालय र केन्द्रीय निकायको सहभागितामा शिक्षामन्त्री सुमना श्रेष्ठले ‘भर्चुअल’ माध्यमबाट अन्तर्क्रिरया गरेकी छन्।

उनले बिहान ८ बजे अन्तरक्रिया गरेको मन्त्रीको सचिवालयले जनाएको छ। आजदेखि २१ गतेसम्म एफएम रेडियोबाट अभियानको सन्देश प्रसारण गरिने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गोविन्दराज पोख्रेललेले बताए।

सामुदायिक विद्यालय केन्द्रित हुने यस अभियान अन्तर्गत आज स्थानीय तहको निर्देशनअनुरुप विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले विद्यालयमा भर्ना भएका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्दै भर्ना अभियान थालिनेछ।

वैशाख ५ गते अभियानको ब्यानरसहित घरदैलो कार्यक्रम, वैशाख ७ गते अभिभावकविहीन बालबालिकाको अभिभावकत्व लिन समाजका उदारमना सदस्यसँग आह्वान गर्नेलगायत कार्यक्रम निर्धारण भएको छ।

अभियानकै क्रममा वैशाख १० गते उक्त दिनसम्म भर्ना भएका विद्यार्थीलाई पोसाक र छात्रवृत्ति प्रदान गरिनेछ। वैशाख १५ देखि २० गतेसम्म शिक्षा विकास तथा समन्वय एकाइबाट प्राप्त विवरणका आधारमा विद्यार्थी विवरण तयार गरी मन्त्रालय पठाइने केन्द्रले जनाएको छ।

निजी क्षेत्रका अधिकांश विद्यालयले भने वैशाखको पहिलो सातादेखि कक्षा सञ्चालन हुने गरी भर्ना प्रक्रिया सुरु गरिसकेका छन्।