महिला मन्त्रालयमा पुरुषको वर्चस्व

काठमाडौं। महिला सशक्तीकरण तथा उत्थानसमेतका लागि स्थापना गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नेतृत्वको जिम्मेवारीमा प्रायः पुरुष हाबी हुने देखिएको छ ।

मन्त्रालय स्थापना भएको २८ बर्से अवधिको तथ्याङ्कमा यस्तो देखिएको हो । २०५२ सालमा स्थापना भएको मन्त्रालयमा हालसम्म ५० जना मन्त्री भएका छन् । तीमध्ये १५ जना मात्र महिला छन्। मन्त्रालयमा कर्मचारीतर्फको नेतृत्वमा पनि अधिकांश पुरुष नै हाबी हुने गरेको देखिन्छ।

यस अवधिमा लीला कोइराला, सहाना प्रधान, अष्टलक्ष्मी शाक्य, दुर्गा श्रेष्ठ, जयपुरी घर्तीमगर, ऋद्धिबाबा प्रधान, नीलम केसी, आशा कोइराला, थममाया थापामगर, जुलीकुमारी महतो, चन्दा चौधरी, उमा रेग्मी र भगवती चौधरीबाहेकका सबै पुरुष मन्त्री भए। महतो र चौधरीले दोहो¥याएर मन्त्री हुने अवसर पाए।

वर्तमान महिलामन्त्री नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट भगवती चौधरी छन्। उनी यसअघि २०७९ साल पुस ३ देखि फागुन १५ सम्म सो जिम्मेवारीमा थिइन्।

राज्यमन्त्री र सहायकमन्त्री १९ जना भएकामध्ये १० जना महिला थिए। अन्य नौ जना पुरुष राज्यमन्त्री र सहायकमन्त्री भएका थिए।

राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने आवाज उठ्ने गरे पनि राजनीतिक दलहरूले महिलाको उचित प्रतिनिधित्व गराउने गरेका छैनन्। गोरखापत्रबाट