दाइ कांग्रेस त छदैछ,एमाले गतिलो भाइ कांग्रेस बन्न खोज्दैछ: अध्यक्ष मोहन वैद्य

फाइल तस्वीर

काठमाडौं। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले नेकपा एमाले आफूलाई भाइ कांग्रेस बनाउन नेपाल कम्युनिस्ट पार्टी स्थापनाको हिरक जयन्ती मनाएको टिप्पणी गरेका छन्।

सोमबार १५५ औं लेनिन जयन्तीको सन्दर्भमा पार्टीले आयोजना गरेको कार्यक्रममा उनले एमालेले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको हिरक जयन्ती मनाउनुको उद्देश्य २०८४ मा हुने चुनाव जितेर ‘प्रतिक्रियावादी राज्यसत्ता’ र संसदीय व्यवस्थालाई अझ बलियो बनाउनु रहेको टिप्पणी गरे।

त्यो जयन्तीको उद्देश्य के हो भन्नुहुन्छ भने २०८४ मा हुने चुनावमा चुनाव जित्ने, प्रतिक्रियावादी राज्यसत्ता, दलाल नोकरशाही पुँजीवाद र संसदीय व्यवस्थालाई अझ बलियो बनाउने। दाइ कांग्रेस त छदैछ, गतिलो भाइ कांग्रेस बन्ने। यो उद्देश्यमा आधारित छ’, उनले भने।

उनले सत्तामा रहेका एमाले, माओवादी केन्द्र, र एकीकृत समाजवादी कम्युनिस्ट पार्टी नभएको बताए।

आज सत्तामा कम्युनिस्टहरु छैनन्। तर प्रतिक्रियावादीहरुले सत्तामा कम्युनिस्टहरु छ, सरकारमा कम्युनिस्ट छ, केही पनि गर्न सकेको छैन भनेर बदनाम गरेका छन्। हाम्रो भनाइ के हो भने ती कम्युनिस्ट होइनन्। त्यो धार दक्षिणपन्थी अवसरवादी धार हो,वैद्यले भने।