नेपाल प्रहरीका चारजना डिआइजीमा प्रतिस्पर्धी,को-को हुन त ?

काठमाडौं। नेपाल प्रहरीभित्र डिआइजी बढुवामा रस्साकस्सी चल्न थालेको छ। अहिले रिक्त रहेको तीन र जेठमा रिक्त हुने एकसहित चार सिटका लागि रस्साकस्सी चल्न थालेको हो। वैशाख ७ गते दुई एआइजी सन्दीप भण्डारी र मिरा चौधरी तथा डिआइजी विकास खनालको अनिवार्य अवकाश भएको थियो।

भण्डारी र चौधरीको स्थानमा उमेशराज जोशी र भीम ढकाललाई बढुवा सिफारिस गरेपछि तीन डिआइजी खाली भएको हो। यस्तै जेठको पहिलो हप्ता सुरेन्द्र मैनालीको अवकाशपछि चार सिट रिक्त हुनेछ।

उनीहरुको स्थानमा त्रिभुवन विमानस्थलमा रहेका एसएसपी कृष्णहरि शर्मा पोखरेल एक जनाको बढुवा कन्र्फम भएपनि अन्यको हकमा भने उनीभन्दा पछिल्ला व्याचीहरुको प्रतिस्पर्धा चलेको छ।

२०७७ माघमा एसएसपी भएका कृष्णहरि शर्मा पोखरेल तथा २०७८ मंसिरमा एसएसपी भएका ध्रुवराज राउत र भोलाबहादुर रावल डीआईजी बढुवाको लाइनमा छन्।

यीमध्ये राउत र रावल वर्तमान आईजीपी बसन्तबहादुर कुँवरका भर्ना ब्याची हुन्। उनीहरु २०५१ चैतमा प्रहरीमा भर्ना भएका थिए। पोखरेल भने एआईजी दीपक थापाका भर्ना ब्याची हुन्। उनी २०५२ भदौमा भर्ना भएका थिए हाल विमानस्थल सुरक्षागार्ड प्रमुखका रुपमा थापाकै मातहतमा कार्यरत छन्।

यी बाहेक २०७९ साउनमा एसएसपी भएका ३२ जना पनि बढुवाका लागि दावेदार छन्। उक्त टोलीमा पहिलो नम्बरमा रहेका गणेश चन्द वर्तमान आईजीपी कुँवरका भर्ना ब्याची हुन्। चन्दकी श्रीमती दुर्गा सिंह कुँवर यसअघि नै डिआइजी भैसकेकी छिन्। अन्य ३१ जना २०५३ पुस र २०५४ चैतमा भर्ना भएको टोलीका छन् ।

उनीहरु २०५३ पुसमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएको टोलीबाट २०५८ सालमा नेपाल प्रहरीमा स्थानान्तरण भएका थिए। सिद्धिविक्रम शाह,सुशीलसिंह राठोर,उमाप्रसाद चतुर्वेदीलगायत थुप्रै अधिकृत त्यतिबेला नेपाल प्रहरीमा समायोजन भएका थिए। तर,एसएसपीमा बढुवा हुँदा उनीहरुसँग नेपाल प्रहरीमा २०५४ चैतमा भर्ना भएको टोली पनि मिसिएको थियो।

२०७९ साउनमा एसएसपी भएका ३२ जनामध्ये चन्दपछि शाह,राठोर र चतुर्वेदी क्रमशः शीर्ष तीनभित्र छन्। त्यसपछि क्रमशः रहेका दानबहादुर कार्की,मनोज केसी,राजन अधिकारी,जीवनकुमार श्रेष्ठ २०५४ चैतको भर्ना टोलीका हुन्।

यीमध्ये शाहले ललितपुर प्रहरी प्रमुखका रुपमा काम गरिसकेका छन्। कार्कीले काठमाडौं प्रहरी प्रमुख र केसीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख रहेर काम गरेका छन्।

यीबाहेक अन्यले यी चार वटा ठाउँमा काम गरेका छैनन्। श्रेष्ठले मानव वेचविखन नियन्त्रण व्यूरो प्रमुख भएर अहिले ट्राफिकमा कार्यरत छन्।

डिआइजी बढुवामा अहिले पोखरेल र चन्दका अतिरिक्त कार्की र केसीलाई बढुवा गर्नुपर्ने आवाज प्रहरीभित्रबाटै आएको छ। आगामी नेतृत्वका लागि कार्यसम्पादन बढाउन पनि आवश्यक रहेको भन्दै प्रहरीभित्रबाट यस्तो आवाज आएको हो।