रित्तिँदै काठमाडौं,अब फेरिएला त गाउँघरको मुहार ?

मनमोहन अधिकारीले प्रधानमन्त्री हुँदा ‘आफ्नो गाउँ आफैं बनाऊ’ भनि अभियान नै चलाएका थिए। यो अभियान थालेसँगै गाउँघरमा पनि विकास देखिन शुरु भएको थियो। बाटो खन्ने, बत्ती लैजाने, अस्पताल र स्कुल निर्माण गर्ने काम अघि बढ्यो। अब गाउँमा पनि विकासको मूल फुट्छ भनि धेरैले अपेक्षा गरेका थिए।

उनले साविकको गाविसमा जाने बजेट पनि ह्वात्तै बढाइदिएका थिए। २०५२ फागुन १ गते माओवादीले जनयुद्ध शुरु गर्यो । माओवादीले शोषकी–सामान्ती, जमिन्दार, पूँजीपति, जागिरेहरुसँग चन्दा माग्न थाल्यो। कि चन्दा नत्र फन्दा भनेपछि अधिकांशले गाउँ नै छोडिदिए।

कोही जिल्लाको सदरमुकाममा आएर बसे। त कोही काठमाडौं उपत्यका छिरे। सक्नेले जग्गा किनेर घर बनाए, नसक्ने भाडामा बसे। त्यो हुनेबित्तिकै गाउँका जमिनहरु बाँझो भयो। घर पनि भत्कियो । उब्जनी गर्ने मान्छे नहुँदा खेतबारी सबै उजाड बन्यो। काठमाडौंमा मान्छेको चाप बढ्नुको प्रमुख कारण यो हो।

उपत्यका छिरिसकेकाहरु माओवादीको डरले फर्किएनन्। यतै बसे। माओवादीले १० वर्ष जनयुद्ध गर्यो। राज्य पक्षबाट र माओवादीबाट गरेर १७ हजार मान्छे शहिद भए। अंगभंग त कति हुन् कति। रगतको बलिन्द्र धारो बगेपछि बल्ल माओवादी र सरकारबीच वार्ता भयो। माओवादी सहमतिमा आयो।

त्यसपछि धेरैले माओवादीले लखेटेको गाउँ फर्किन्छन् भन्ने अड्कल गरेका थिए। तर, त्यसो भएन्। माओवादी शान्ति वार्तामा आएर पहिलो संविधान सभाको चुनावमा भाग लिनेबित्तिकै झन् सदरमुकाम र काठमाडौंको जग्गाको मूल्य बढ्यो। माओवादीमा लागेकाहरुले धमाधम जग्गा किन्न थाले।

जग्गा त दिनको दुई गुणा र रातको चार गुणा बढ्न थाल्यो। २०६४ सालमा एक लाख पर्ने जग्गा २०७८ सालमा पचासौं लाख पुग्यो। माओवादीका कार्यकर्ता नै जग्गा दलालीमा संलग्न हुन थाले। गाउँ त कोही फर्किएनन्, बरु गाउँ छोड्नेको संख्या झनै बढ्यो। धमाधम गाउँ छोड्ने अनि काठमाडौंमै थुप्रिने क्रमले व्यापकता पायो।

व्यापार व्यवसाय गर्नेले पनि पैसा जग्गामै हाले। विदेशमा कमाएको पैसा पनि जग्गा किन्ने घर बनाउने। सरकारी जागिरे पनि त्यही। यहाँ त जोपनि जग्गा किन्नमै व्यस्त भए। सरकारले २०७२ असोज ३ गते संविधान जारी गर्यो। मुलुक सात प्रदेशमा बाँडियो। ७५३ वटा स्थानीय तह घोषणा गरियो।

तर, यसले पनि गाउँ फर्किनेमा खासै प्रभाव पारेन्। काठमाडौं उपत्यका र जिल्लाको सदरमुकाममा बसेकाहरु फर्किन चाहेनन्। जबकी सातै प्रदेशमा सरकार छ । सरकारी कार्यालय छ। गाउँ रित्तो हुँदा मुलुकलाई धेरै घाटा भएको छ । सबै काठमाडौंमा थुप्रिँदो गाउँघर उजाडियो।

गाउँघरमा बुढाबुढी मात्रै बाँकी छन्। खेत छ, अन्न लगाउन कोही छैन्। सुविधाको खोजीमा सबै काठमाडौं र सदरमुकाम केन्द्रित बने। जसका कारण गाउँमा विकास नै हुन् सकेन्। गाउँ झन्झन् पछि पर्दै गयो। अहिले मुलुकमा आर्थिक मन्दी छ। व्यापार व्यवसाय सुकेको छ।

बेरोजगारी दिनहुँ बढिरहेको छ। मँहगीले आकाश छुन लागेको छ। जसका कारण यहाँ कोठा लिएर बस्नेहरुले गाउँ फर्किने सुर कस्न थालेका छन्। कोठा भाडा तिर्न र बिहानबेलुका छाक टार्न समस्या परेपछि अधिकांश गाउँ फर्किने तयारीमा छन् भने केही फर्किसके।

यहाँ बसेर बाँच्न धौं धौं परेपछि गाउँ फर्किनबाहेक विकल्प पनि छैन्। आफ्नै गाउँघरमा गएर पसिना बगाउँछु भन्न थालिएको छ । माओवादीले जनयुद्ध शुरु गर्नुअघि उपत्यकाभित्र सबै खेतबारी थियो। यहाँ सबैतिर उब्जनी हुन्थ्यो। अहिलेको काठमाडौं उपत्यका हेरौं । घरैघरको शहर बनेको छ।

जता हेर्यो घर मात्र छ । माओवादीले गाउँबाट मान्छे लखेटेको फाइदा जग्गा दलालीलाई भयो । आनाको एक लाखमा लिएर टुक्राटुक्रा पारेर आनाको ६० लाखमा बेचिदिए । जग्गा दलालीहरुले एकातिर खेतीयोग्य जमिन सकाइदिए, अर्कोतिर भोकमरी लाग्ने अवस्था सिर्जना गरिदिएका छन्।

जग्गा दलालीहरुले कतिसम्म गरे कि डाँडाकाडा, वनजंगल, तालपोखरी केही भनेनन्। सबै डोजर लाउँदै प्लानिङ गरेर सकाइदिए। जग्गा दलालीले प्रकृतिसँगै खेलबाड गरेका छन्। सबै जग्गामा घर बनेपछि चराचुरुंगीको बासस्थान मासिएको छ। जग्गा दलालीले सोझासाझीलाई फसाएका छन्।

जग्गा खरिद गर्नेले जग्गा आफूसँग भएको पैसाले किने,घरचाँहि जग्गा धितो राखेर कर्जा लिएर बनाए। आफू एक फ्ल्याटमा बस्ने अनि अरु भाडामा ल्याउने घरधनीको योजना अहिले चक्नाचुर भएको छ। बसिबसि आफू पनि पालिने, बैंकको कर्जा पनि तिर्ने सोच बनाएकाहरु अहिले चुलुम्मै डुब्ने देखिएको छ।

कोठा, सटर र फल्याट धमाधम खाली हुन थालेसँगै घरधनीहरु तनावमा आएका छन्। दुई वर्ष अघिसम्म घरधनीको भुँइमा खुट्टा हुँदैन्थ्यो। एउटै कोठा नौंदेखि १५ हजारसम्म पर्थ्यो। फ्ल्याट २५ हजारदेखि लाखसम्म पर्थ्यो। सटर त लाखौं पर्थ्यो। खाली सटर ५० लाखसम्म खरिदबिक्री हुन्थ्यो।

अहिले त जताततै कोठा, सटर खाली भनेर टाँसेको पाइन्छ। हिजो माओवादीको नेतृत्व पुष्पकमल दाहालले गरेका थिए। उनले जनयुद्ध शुरु गर्नेबित्तिकै यहाँ रातरात जग्गाको भाउ बढ्यो। अहिले देशको प्रधानमन्त्री पनि उनी नै छन्। तर, परिस्थिति ठ्याक्कै उल्टो छ। गाउँ फर्किनको संख्या बढेको छ।

घरजग्गा कारोबारमा मन्दी छाएको छ। गाउँ फर्किनु राम्रो कुरा हो। गाउँ विकास हुन्छ। अहिले गाउँमा पनि बत्ती,विद्यालय र अस्पताल पुगेको छ। इन्टरनेटको सुविधा पनि विस्तार पुग्दै छ। यसको मार भने घरधनी, दलाल र बैंक तथा वित्तिय संस्थालाई पुगेको छ। घरधनीसँग कर्जा तिर्न सक्ने आयस्रोत छैन्।

भनिन्छ नि,‘परिस्थितिले मान्छेलाई धेरै कुरा सिकाउँछ। आर्थिक मन्दी नआएको भए अहिले पनि कोही गाउँ फर्किदैन्थे। २९ वर्षपछि गाउँको मुहार फेरिने भो। अहिले काठमाडौंका घरधनीलाई ईंट्टा टोक्ने कि डण्डी टोक्ने भएको छ। उनीहरुको लुटिने दिन अब सकियो। जसले पनि सकुञ्जेल लुट्ने हो।

अब जग्गा दलाली र घरधनीले लुट्ने दिनको अन्त्य भयो। बुढापाकाले भन्छन् नि,‘घाँटी हेरेर हाड निल्नु।आम सर्वसाधारण भाडा तिर्न सकुञ्जेल यहाँ बसे,नसकेपछि गाउँ फर्किए। यो त शुरुवात हो। अबको एकाध वर्षमा काठमाडौं र सदरमुकाम रित्तिसक्छ।न यहाँ भाडामा बस्ने मान्छे पाउँछ,न यहाँ घर किन्ने मान्छे नै पाउँछ।

काठमाडौं र सदरमुकाम रित्तियो। मान्छे ढिलो भएपनि आफ्नो जन्मथलो फर्किए र ठगहरुको ठग्ने दिन अन्त्य भयो। त्यसैले समय नै सबैभन्दा ठूलो खेल हो। समयले कतिबेला कहाँ पुर्याउँछ, भन्न सकिँदैन्। अब घरजग्गाको मूल्य बढ्छ।