इलाम-२ मा मतगणना सुरु हुँदै, सर्वदली बैठक बस्ने तयारीमा

फाइल तस्वीर

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको मतगणना आजबाट हुने भएको छ । मतमेटिका राति नै संकलन भइसकेको आयोगले जनाएको छ ।

हिजो नै हुने भनिएको मतगणना माङ्सेबुङ, फाकफोक र चुलाचुली गाउँपालिका लगायतको मतपेटिका आउन ढिला भएपछि आज सुरु हुन लागेको हो ।

मतगणनाका लागि आज बिहान ७ बजे सर्वदलीय बैठक बोलाइएको छ । त्यसपछि इलाम नगरपालिकास्थित सिटी हलको (गौतम बुद्ध सभागृह) मा मत गनिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतगणनाका लागि शनिबारै सभागृहको हलमा ११ वटा सीसी क्यामेरा जडान गरिएको छ।

इलाम–२ मा शनिबार भएको मतदानमा जम्माजम्मी ५८ प्रतिशत मत खसेको थियो । निर्वाचन आयोगका अनुसार इलाम २ मा एक लाख १६ हजार ८८९ मतदाता छन् ।

यहाँ विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवारले चुनावी प्रतिष्पर्धामा छन् । एमाले सांसद सुवास नेम्वाङको निधनपछि रिक्त रहेको निर्वाचन क्षेत्रका लागि शनिबार मतदान भएको हो।