नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको दोस्रो खेल आज हुँदै

काठमाडौं। नेपाल र वेस्ट इण्डिज ‘ए’ टी–२० सिरिजको दोस्रो खेल आज खेल्दै छन् । यी दुई टिमबीचको दोस्रो खेल दिउँसो १२ः१५ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ। सिरिजमा नेपाल १–० ले अगाडि छ।

नेपालले शनिबार पहिलो खेलमा पाहुना टिम वेस्ट इण्डिजलाई चार विकेटले हरायो। नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले शतकीय इनिङ खेले। ५४ बलको सामना गरेका उनले १० चौका र ६ छक्काको मद्दतमा ११२ रनको इनिङ खेलेका हुन्।

नेपाल आज पनि खेल जितेर सिरिजमा २–० को अग्रता लिन चाहन्छ। सिरिज जित्न नेपालले अब दुई खेल जिते पुग्छ। नेपाल पहिलोपटक घरेलु मैदानमा वेस्ट इण्डिज ‘ए’ सँग खेलिरहेको हो। यद्यपि नेपालले वेस्ट इण्डिजको सिनियर टिमसँग भने यसअघि नै खेलिसकेको छ।

गत वर्ष जिम्बाब्वेमा आयोजित एकदिवसीय विश्वकप छनोटमा नेपाल वेस्ट इण्डिजसँग १०१ रनले पराजित भएको थियो।

नेपाल यसपटक आउँदो १ जुनदेखि सुरु हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि वेस्ट इण्डिज ‘ए’ सँग सिरिज खेलिरहेको हो।