मलामी बोकेको जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, १२ घाइते

काठमाडौं। गुल्मीमा मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी १२ जना घाइते भएका छन्। दुर्घटनामा परेर ७५ वर्षका मनबहादुर फुम्जालीको मृत्यु भएको प्रहरीले जनाएको छ।

रुद्रवेणीबाट मलामी लिएर लिम्घा तर्फ फर्किरहेको लु १ च ४३२० नम्बरको पिकअप जिप गएराति सत्यवती गाउँपालिका वडा नम्बर–४ मौरीओडारमा दुर्घटना भएको थियो।

दुर्घटनामा परी सत्यवती गाउँपालिका वडानम्बर–५ निवासी ३१ वर्षका कृष्ण थापा,३५ वर्षका यसबहादुर बुढाथोकी,४० वर्षका खेमु श्रीस, ६० वर्षका दुर्गाबहादुर राना, ३१ वर्षका भुपेन्द्रदेव खप्तरी (थापा) घाइते भएका छन्।

त्यस्तै ५३ वर्षका पदम बहादुर बुढाथोकी, ३१ वर्षका भरत बुढाथोकी, २६ वर्षका मिलन राना, २६ वर्षका ठगबहादुर बुढाथोकी, ३४ वर्षका घनश्याम बुढाथोकी,६ वर्षका चिनबहादुर राना र चालक सत्यवती गाउँपालिका–४ लिम्घा बस्ने २९ वर्षका शंकर विक घाइते भएका प्रहरीले जनाएको छ।

घाइतेहरूमध्ये ४ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको छ भने अन्य घाइते ८ जनाको स्थानीय जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। घाइते मध्ये केहीको अवस्था मध्यम रहेको छ।

जिप सडकबाट करिब ४० मिटर तल खसेको थियो। जीपमा १३ जना सवार थिए। ब्रेक फेल भएर जिप दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ।