नेपालीलाई चिनियाँ भिसा निःशुल्क

काठमाडौं। चीनले नेपाली नागरिकलाई भिसा निःशुल्क गरेको छ। १ मे २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क नलिने निर्णय गरेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ।

नेपालका लागि चिनियाँ राजदूत छन सङले दुई देशबीचको सम्बन्धलाई प्रवर्द्धन गर्न र सेवालाई थप सहज बनाउन यस्तो निर्णय लिइएको जानकारी दिएका छन्। दूतावासका अनुसार नियमित भिसा शुल्क नलागे पनि एक्सप्रेस शुल्क र सेवा शुल्क भने लिइने छ।

चिनियाँ दूतावासले नियमित, एक्सप्रेस-१ र एक्सप्रेस-२ भिसाका लागि शुल्क लिने गरेको थियो। नियमित शुल्क अब लाग्ने छैन।

दूतावासले एक्सप्रेस-१ का लागि ४०० र एक्सप्रेस-२ का लागि २ हजार ७०० रुपैयाँ लिने छ। यसैगरी ग्रुप भिसातर्फ एक्सप्रेस-१ का लागि २ हजार र एक्सप्रेस-२ का लागि १ हजार ३५० रुपैयाँ लाग्ने दूतावासले जनाएको छ।

यसैगरी भिसा सेन्टरले नियमित भिसाका लागि सेवा शुल्कवाफत् ३ हजार ९०० रुपैयाँ लिनेछ। एक्सप्रेस–१ का लागि ७ हजार ८०० र एक्सप्रेस-२ का लागि ५ हजार ८५० रुपैयाँ तोकिएको छ।

नेपालले पहिलेदेखि नै चिनियाँलाई भिसा शुल्क लिँदैन। उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले हालै गरेको चीन भ्रमणको क्रममा नेपालीलाई भिसा निःशुल्क गर्न चिनियाँ पक्षलाई आग्रह गरेका थिए।