अब अनलाइनबाटै यसरी प्राप्त गर्न सकिन्छ सिंहदरवार प्रवेश गर्ने पास

फाइल तस्वीर

काठमाडौं। अब सिंहदरवार प्रवेशका लागि कसैलाई भनसुन गर्नु नपर्ने भएको छ। आफैँले अनलाइनबाट आवेदन दिएर सिंहदरवार प्रवेश पासको व्यवस्था गर्न सकिने भएको हो।

सिंहदरवार प्रवेश गर्न सर्वसाधारणका लागि सहज बनाउन क्युआर कोड सहितको प्रवेश पासको व्यवस्था गरिएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सिंहदरवार प्रवेश पासका लागि मोबाइल-वेबसाइट प्रयोगकर्ताले प्लेस्टोरमा सिंहदरवार पास डाउनलोड गरेर वा ब्राउजरमा सिंहदरवारपास डट जिओभी डट एनपी लगइन गरेर प्रवेश पास प्राप्त गर्न सकिन्छ।

अनलाइन प्रणालीबाट दिएको आवेदन सम्बन्धित मन्त्रालयले स्वीकृत गरेपछि सोही प्रणालीमा प्रवेश पास क्युआर कोडमा उपलब्ध हुने छ। सोही क्युआर कोड प्रवेशका लागि सिंहदरवार गेटमा देखाउनुपर्ने छ। आगन्तुकले एक दिनदेखि तीन महिनासम्मको अस्थायी पास अनुरोध गर्न सक्नेछन्।

रजिस्टर गर्ने क्रममा नागरिकता, राष्ट्रिय परिचयपत्र, पासपोर्ट वा ड्राइभिङ लाइसेन्सको फोटोसँगै नम्बर पनि अट्याच गर्नु पर्छ । यो व्यवस्था लागू भएपछि सर्वसाधारण नागरिकले सिंहदरवार प्रवेश गर्नका लागि सिंहदरवार भित्र रहेका निकायमा कार्यरत व्यक्तिलाई फोन गरेर नाम र ठेगाना टिपाएर भित्र जानुपर्ने बाध्यताको अन्त्य भएको छ।

प्राप्त गर्ने तरिकास्
१- सिंहदरवार प्रवेश पासका लागि स्मार्ट मोबाइलरवेबसाइट प्रयोगकर्ताले प्लेस्टोरमा सिंहदरवार पास डाउनलोड गर्नुहोस् वा ब्राउजरमा सिंहदरवारपास डट जिओभी डट एनपी मा लिंक ब्राउज गर्नुहोस् र त्यसपछि तपाई लगइन पेजमा जानु हुनेछ।

२- यदि तपाईँले पहिले रजिस्टर गर्नु भएको छैन भने, रजिस्टर बटनमा थिच्नुहोस्

३- आफ्नो मोबाइल नम्बर प्रविष्ट गर्नुहोस् र रजिस्टर बटन थिच्नुहोस्।

४- त्यसपछि डिफल्ट ओपिटी राख्नुहोस् र भेरिफाइ ओपिटी बटनमा थिच्नुहोस्।

५- त्यसपछि तपाईँ फारम दर्ता गर्ने पृष्ठमा पुग्नुहुने छ। फारमका अनिवार्य क्षेत्रमा विवरणहरू प्रविष्ट गर्नुहोस् र रजिस्टर बटनमा क्लिक गर्नुहोस्।

६- दर्ता पछि, लगइन पृष्ठमा जानुहोस् र आफ्नो सही प्रयोगकर्ता नाम र पासवर्ड प्रविष्ट गर्नुहोस्। आगन्तुकले १ दिन पास वा ३ महिना÷अस्थायी पास अनुरोध गर्न सक्नेछन्, पास अनुरोध गर्न, बाँयापट्टी अनुरोध फारम मेनुमा क्लिक गर्नुहोस्। सबै अनिवार्य क्षेत्रहरू प्रविष्ट गर्नुहोस् र सबमिट बटनमा क्लिक गर्नुहोस्।

७- सम्बन्धित मन्त्रालयले तपाईँको अनुरोध स्वीकृत गरेपछि यही प्रणालीमा तपाईँले क्युआर कोड पाउनु हुनेछ, र सोही क्युआर कोड सिंहदरवार गेटमा प्रवेशको लागि देखाउनुपर्ने छ।

८-यो प्रणाली प्रयोग गर्न नसक्ने महानुभावहरूले सिंहदरवारको दक्षिण तर्फको मूल प्रवेशद्वारमा आफ्नो परिचयपत्र लिएर जानुहोस् र कर्मचारीरसुरक्षाकर्मीहरूको सहायता लिनुहोस्।