क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’

काठमाडौं। काठमाडौं जिल्ला अदालतबाट बलात्कार अभियोग ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आइतबार पनि ‘हेर्न नभ्याइने’मा परेको छ।

उच्च अदालतका न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको इजलासमा परेको मुद्दा छैटौँ नम्बरमा परेको थियो।

तेस्रो नम्बरको सुनुवाइ हुँदा हुँदै चौथो र पाँचौँ नम्बरमा रहेका दुई मुद्दा स्थगित भएपछि मध्याह्नमै सन्दीपको मुद्दालाई यसपछिको सुनुवाइ भनेर पेसी सूचीमा जनाइएको थियो।

खाजा समयअघि नै पेसी सूचीमा सुनुवाइ भइरहेको जनाइएको मुद्दा अन्तिममा भने ‘हेर्न नभ्याइने’मा परेको भनिएको छ।

यसअघि यही वैशाख १० गते उच्च अदालत पाटनका न्यायाधीशद्वय सुनदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा पनि सन्दीपको मुद्दा हेर्न नभ्याइनेमा परेको थियो।

त्यसअघिको न्यायाधीशद्वय मनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासले गौशाला २६ (छ)को जन्मदर्ता प्रमाणपत्रसँगै जन्मदर्ताका लागि दिएको निवेदनको सक्कल कपी झिकाउने आदेश गरेका थियो ।

काठमाडौं जिल्ला अदालतले गौशाला २६ (छ)लाई जबरजस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो। न्यायाधीश शिशिरराज ढकालको इजालसले गरेको फैसलाविरुद्ध सन्दीपले गएको फागुन १० गते पुनरावेदन गरेका थिए।

काठमाडौं जिल्ला अदालतले गौशाला २६ (छ)लाई बालिग ठहर गरेको तथा सन्दीपलाई न्युनतम सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुरावेदन गरेको छ।

दुबै मुद्दामा यसअघि नै एकसाथ सुनुवाइ सुरू भइसकेको छ। यसअघि उच्च अदालतले पीडित गौशाला २६ (छ)को जन्मदर्ताको लागि दिएको निवेदनको सक्कल प्रतिसहित जन्मदर्ताको प्रमाणपत्र झिकाउने आदेश गरेको थियो।