जनता बने सचेत,ठग्न नपाउँदा ठगहरुलाई ‘रातमा निद्रा न दिनमा चैन’

अटो व्यवसायीले जे माग गर्यो, त्यही पूरा गरिदियो, सरकारले। सेयर र घरजग्गाको हकमा पनि त्यही भयो। गाडीको भ्यालुएसनको आधारमा बैंक तथा वित्तिय संस्थाले पहिले ५० प्रतिशत कर्जा दिन्थ्यो। सरकारले बढाएर ८० प्रतिशत दिने निर्णय गरिदिएको छ। सेयरमा लगाएको १२ करोडको सीमा पनि सरकारले हटाइदियो।

जग्गाको वर्गीकरण रोकिदियो, कित्ताकाट खोलिदियो। खेतीयोग्य जमिनमा पनि प्लानिङ्ग गर्न दिने निर्णय सरकारले गर्यो । व्यवसायीले जे–जे माग गर्यो, सरकारले धमाधम पूरा गरिदिन्छ। पछिल्लो उदाहरण अध्यादेशमार्फत संशोधन गरिएको नौ वटा लगानीसम्बन्धी ऐन पनि हो।

व्यवसायीकै मागअनुरुप सो ऐनमा संशोधन गरिएको हो। प्रथम कुरा के भने सरकारले व्यापार गर्ने होइन्। व्यवसाय गर्न सहज वातावरण बनाउनका निम्ति ऐनकानुन निर्माण गर्नेसम्म मात्रै सरकारको हातमा रहन्छ। व्यवसायीले भनेअनुसार गर्दा पनि कारोबार बढेन् भने त्यसमा सरकारको के गल्ती ?

घरजग्गा दलालीको मागबमोजिम कित्ताकाट खोलियो। तर, कारोबार अहिलेपनि ठप्प छ। अब यसमा सरकारलाई दोष लगाएर हुन्छ ? कुरा के हो भने सर्वसाधारणले किनिदिएनन्, उनीहरु ‘मुर्गा’ बन्न चाहेनन्। यसमा सरकारलाई आरोप लगाउनै मिल्दैन्। किन्ने–नकिन्ने त्यो सर्वसाधारणको मर्जीको कुरा हो।

बैंकले सेयर एक सय रुपैयाँमा निकासा गर्छन्। दलालीले के गरे, एक सयको सेयरको मूल्य चार हजार पुर्याए र सोझासाझीलाई बेचे। जग्गा त उब्जनीको स्रोत हो। जग्गा दलालीले अन्न फल्ने जमिनमा डोजर लगाएर, प्लानिङ्ग गरेर आनाकै ६०–६५ लाखमा बेचे। छिमेकी मुलुकमा एक लाखमा पाउने सवारी साधन यहाँ ३५–४० लाखमा बेचियो।

दलालीहरुले कसरी हाम्रो फाइदा उठाइरहेको छन् ? सर्वसाधारणलाई थाहा थिएन्। उनीहरुले सर्वसाधारणदेखि सञ्चारकर्मीसम्मकै आँखामा धुलो छरेर लुटिरहेका थिए। अहिले बजारमा सेयर, घरजग्गा, गाडी किन्ने कोही छैनन्। किन कि सर्वसाधारणको अब आँखा खुल्यो।

सर्वसाधारण सचेत भए, दलालीको ठग्ने दिन अन्त्य भयो । सरकारले सेयर, गाडी र घरजग्गा नकिन्नु भनेर जनतालाई भनेको छैन् । तैपनि जनताले किन्दैनन्, किन ? जनताले हामी कसरी ठगिरहेका थियौं भन्ने थाहा पाए। दलालीले हामीलाई कसरी लुटिरहेका थिए ? भन्ने छर्लङ्ग देखे।

अनि उनीहरुले यी क्षेत्रमा लगानी गरेनन्। जसका कारण दलालीको ठग्ने दिन अन्त्य भयो। आफूहरुले ठग्न नपाएपछि दलालीहरु अहिले ‘गोहीको आँशु’ झारिरहेका छन्। बैंक तथा वित्तिय संस्थामा कर्जा लिने सामसुम छ। जति प्रतिशत ब्याज दिन्छु भनेपनि बैंक, सहकारी, लघुवित्त र फाइनेन्समा बचत गर्ने कोही छैनन्।

यता, सस्तोमै कर्जा दिएपनि लिने कोही छैनन्। जनता सचेत भएको अर्को उदाहरण यो पनि हो। बैंक तथा वित्तिय संस्थाको सोझासाझीलाई ठग्ने र उठीबास लगाउने कार्यको अब बन्द हुन्छ। अहिले निजी बैंकहरुमा पैसा राख्नेभन्दा निकाल्ने धेरै छन्। बैंक र फाइनेन्सहरु घाटामा गइरहेका छन्।

लघुवित्त र सहकारी त बन्द भइहाल्यो। सर्वसाधारणले बैंक तथा वित्तिय संस्थाको ‘मुखटा’ भित्रको अनुहार छर्लङ्ग देखिसकेका छन्। ‘मुखटा’ लगाएर ठग्दै आएकाहरु माथिबाट जनताको विश्वास उठिसकेको छ। बैंक तथा वित्तिय संस्थाबाट ऋण लिनुहुन्न, सेयर, गाडी र घरजग्गामा लगानी गर्नुहुँदैन् भन्ने कुरा सर्वसाधारणले बुझिसकेका छन्।

त्यसैले अहिले दलालीहरु ‘पानी बिनाको माछा’ जस्तै भएका छन्। व्यवसायीको बर्को ओढेर सर्वसाधारण लुट्दै आएकाहरुलाई लुट्न नपाएपछि तनाव भएको छ। केही दिनअघि सेयर लगानीकर्ताहरु माइतीघरमा आन्दोलनमा उत्रिए। पहिलो कुरा त यिनीहरुले के बुझन्, सरकारले सेयर किन्ने होइन्।

सर्वसाधारणले किन्दैनन्। सरकारले आफ्नो तर्फबाट हुने प्रयास गरिदिएकै हो। अनि सरकारविरुद्ध सडकमा आएर सेयरको मूल्य बढ्छ ? कस्तो सोचाइ हो यो। बजार चलाउने सरकार होइन्, सर्वसाधारण हुन् । सर्वसाधारणमा त्यति शक्ति छ, चाहे भने बजार उकास्न पनि सक्छन्, खसाल्न पनि सक्छन्।

हिजो सर्वसाधारणले किनेका थिए र पो बजार भाउ आकाशिएको थियो। एक लाख नपर्ने जग्गालाई करोडमा बेचिएको थियो। अब त्यो दिन गयो। पर्दाभित्र बसेर दलालीहरुले आफूहरुलाई लुटेको सर्वसाधारणले राम्ररी बुझिसकेका छन्। त्यसैले अब जति रोएपनि, कराएपनि यी तीनवटा क्षेत्र उमो लाग्ने छैन्।

बढी ब्याजको प्रलोभनमा परेर सर्वसाधारणले जागिर खाएर आएको, विदेशमा बसेर कमाएको, घरजग्गा बेचेको पैसा बैंक तथा वित्तिय संस्थामा लगेर राखे। ब्याजको लोभमा पर्दा साँवा नै डुबेको अवस्था छ । सहकारी र लघुवित्त त लगभग सकि नै हाल्यो । अब सहकारी र लघुवित्त उकासिने कुनै आधार नै छैन्।

बैंक र फाइनेन्समा पनि समस्या देखिँदैछ । राज्यले हिजो पनि सेयर, घरजग्गा र गाडीमा लगानी गर भनेको थिएन्, आज पनि ती क्षेत्रमा लगानी नगर भनेको छैन् । राज्य हिजो पनि मौन थियो, आज पनि मौन छ । सबैले गरेको त आफ्नो मर्जीले हो । आज नाफा भइरहेको भए, कसैले राज्यलाई सम्झिन्थे ?

सरकारले गर्दा हामी डुब्यौ भन्न मिल्छ ? नाफा हुञ्जेल आफ्नो अनि डुबेपछि सरकारको। नेपालीको त यो प्रवृत्ति नै हो,राम्रो भए आफूले गर्दा, बिग्रिए अरुले गर्दा। सरकारले जनतालाई घरजग्गा, सेयर, गाडीमा लगानी गर भन्न मिल्दैन्। कहाँ कति लगानी गर्ने ? यो सर्वसाधारणको स्वेःइच्छाको कुरा हो।

त्यसैले आन्दोलन गरेर सेयर, घरजग्गा, सेयरको मूल्य बढ्छ, खाली भएका सटर भरिन्छ भन्नु भ्रम हो। बजार जहिले माथि गइरहन्छ भन्ने छैन्। दलालीहरुले हामी सँधै यसरी नै ठगिरहन्छौं भन्ने सोचेका थिए । तर, त्यो पूरा हुन पाएन्। बीचमा बसेर खान पल्केकाहरुको सत्यता बाहिर आउनै थियो, आयो।

अब यी क्षेत्र झनै नाजुक बन्दै जान्छ। एक सयको सेयर त्यतिमा पनि बिक्री नहुने दिन आउँछ। एक लाखको गाडी आधा मूल्यमा किन्ने मान्छे भेट्दैन्। सेयर भनेको जुवासरह हो। तर, सर्वसाधारणले यो कुरा बुझेका थिएनन्। अहिले त छर्लङ्ग भयो। अहिले जुन अवस्था हो, त्यो देख्दा कतिपयलाई आफूले सेयर, घरजग्गा, गाडीमा लगानी नगरेको र बैंक तथा वित्तिय संस्थाको प्रलोभनमा नपरेकोमा गर्व लाग्छ।

थोरै ब्याज आएपनि सरकारी बैंकमा पैसा राखेकोप्रति उनीहरु खुसी छन्। किन कि उनीहरुले बैंक तथा वित्तिय संस्था पीडितका हालत देखिरहेका छन्। बुढापाकाले भन्छन्,‘सत्य कहिले ढग्दैन्, झुठ धेरै बेर टिक्दैन्। दलालीहरुले झुठको खेती गरेर ठगेका थिए, जुन कुनै दिन बाहिर आउनै थियो।

आएसँगै तिनको झुठको व्यापार डामाडोल भयो। कहाँ ठगी भइरहेको छ ? जनता कहाँ ‘मुर्गा’ बनिरहेका छन् ? सबैतिर राज्यको आँखा पुग्न सक्दैन्। त्यो बाहिर ल्याउने सञ्चारकर्मी हुन्। जब सञ्चारकर्मीले ती कुरा बाहिर ल्याए, ठगहरुको ठग्ने दिन समाप्त भयो।

डुब्ने त डुबिहाले, बाँकी त बेचे नि। अरुलाई चुसेर आफू मोटाइरहेका थिए, दलालीहरु । सरकार व्यवसायीको मात्रै होइन्। समग्र जनताको सरकार हो। तीन करोड नेपालीको अभिभावकत्व सरकारले लिनुपर्छ। त्यसैले व्यवसायी नाममा ठगका मात्रै होइन्, जनताको कुरा पनि सुन।

दलालीहरुले सरकारलाई गलाउँछौं र हामी ठग्छौं भन्ने सोचेका छन्। तर, यो अब सोचमै सीमित हुन्छ। किन कि जनता बाठा भइसके। धेरै ठग देश छोडेर भागिसकेका छन्,बाँकी भएका पनि भाग्छन्। देशको राजनीति परिवर्तन गर्ने जनता हुन्। यहाँ जनताले चाहे भने क्षणिकमै उथलपुथल हुन्छ।

त्यही जनतालाई दलालहरुले हलुकामा लिएका थिए । ढिलै भएपनि जनताले ठगहरुको अनुहार चिने । ठगहरुको रातको निद्रा र दिनको भोक हरायो।