वेस्ट इण्डिज ए विरूद्धको अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी

काठमाडौं। नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेष्टइण्डिज ए माथि ६ विकेटको जित हात पारेको छ। पाँच खेलको सिरिज भने वेष्टइण्डिजले ३-२ ले जित्न सफल भयो।

१७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो। नेपालको जितमा कुशल मल्ल १८ बलमा ३ चौका र ३ छक्कासहित ३७ रनमा नट आउट रहे। खेल जित्न अन्तिम १२ बलमा २२ रन चाहिँदा ओबेद म्याककोयलाई कुशल मल्लले तीन चौका, एक छक्का र एक लेग वाइको रुपमा चौका प्रहार गर्दै जित दिलाए।

नेपालका ओपनर आसिफ शेखले ३५ बलमा २ चौका र ४ छक्कासहित ५१ रन बनाउँदै आउट भए। तेस्रो नम्बरमा आएका अनिल साहले ४५ बलमा ४ चौका र ४ छक्कासहित ५८ रन बनाए।

ओपनर कुशल भुर्तेललाई नेपालले १३ रनमा गुमाएको थियो। दोस्रो विकेटका लागि अनिल र आसिफले ९६ रनको साझेदारी गर्दै जितको आधार बलियो बनाएका थिए।दीपेन्द्रसिंह ऐरी ५ रनमा आउट भए। ओबेद म्याककोयले ३ र म्याथ्यु फर्डले १ विकेट लिए।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइण्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनाएको थियो।

वेष्टइण्डिज ए का एलिक एथानाजेले २९ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ४२ रन बनाए। कप्तान रोस्टन चेसले २३ बलमा ५ चौकासहित सर्वाधिक ३३, जोनसन चार्ल्स २४, कदिम एलियन र मार्क दयालले ११/११ रनमा आउट भए। म्याथ्थु फर्ड १२ बलमा ३ छक्कासहित २३, फबिएन एलेन ३ र गुणाकेश मोती १ रनमा आउट भए।

तीव्र गतिका बलर सोमपाल कामीले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए। स्पिनर सागर ढकालले २ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए।

अभिनाश बोहराले ४ ओभरमा ४९ रन खर्चेर १ विकेट लिए। पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो। त्यसपछि १० रन, ७६ रन र २८ रनले पराजित हुँदै नेपालले सिरिज गुमाएको थियो।