गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदैछन्। आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए।

विश्वासको मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भइसकेको छ। मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत दिन नेकपा एमाले र माओवादीले ह्वीप जारी गरिसकेका छन्।

एमाले, माओवादी केन्द्र र राजीव गुरुङ (दीपक मनाङे) को समर्थनमा एमाले संसदीय दलका नेता अधिकारी गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए। नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्री अधिकारीले सभामुखलाई गणना गरेर दाबी पेस गरेपछि निवर्तमान मुख्यमन्त्री कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गत चैत २७ गते सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिट सर्वोच्च वैशाख १७ गते खारेज गरिदिएको थियो।

मुख्यमन्त्री अधिकारीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने समर्थन नगर्ने संकेत गरेको छ। राप्रपासँग गण्डकीमा २ सीट छ। राप्रपाले समर्थन नगरेको अवस्थामा विश्वासको मत पाउन सकस देखिन्छ।

तर, सर्वोच्चको व्याख्याअनुसार ३० सांसदको समर्थन हुँदा बहुमत पुग्ने गठबन्धन नेताहरूको दाबी छ। कांग्रेसको भने विश्वासको मत लिँदा बहुमतका लागि ३१ जनाकै समर्थन हुनुपर्ने तर्क छ। गण्डकी प्रदेशसभामा ६० जना सांसद छन्।