समाजवादीका अध्यक्ष नेपालले बोलाए संसदीय दलको बैठक

फाइल तस्वीर

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले संसदीय दलको बैठक बोलाएका छन्। आज अपरान्ह संसदीय दलको बैठक बोलाइएको हो।

एकीकृत समाजवादीका असन्तुष्ट सांसदहरुलाई सम्झाउनका लागि अध्यक्ष नेपालले दलको बैठक बोलाएको बताइएको छ। जसपा विभाजनसँगै एकीकृत समाजवादी पनि विभाजन हुने चर्चा चलिरहेको बेला अध्यक्ष नेपालले बैठक बोलाएका हुन्।

उपेन्द्र यादवसहित यो गठबन्धन छाडेर वैकल्पिक गठबन्धनबाट प्रधानमन्त्री बन्ने प्रयासमा तत्काल अवरोध भएपछि नेता नेपाल चिन्तित छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई अहिलेको सत्ता समिकरणबाट निकाल्न प्रधानमन्त्रीलाई संकेत गरिसकेका छन्।

यस्तै, उपेन्द्र यादवलाई उपप्रधानमन्त्रीबाट हटाएर उनको ठाउँमा विभाजित जसपाका सांसदलाई मन्त्री बनाउने तयारी रहेको स्रोतको भनाइ छ। अबको रणनीति बनाउनका लागि अध्यक्ष नेपालले संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक मेटमणी चौधरीले बताएका छन्।