आज मातातीर्थ औँसी मनाइँदै

काठमाडौं । आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ।

वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरु भने आमाको श्राद्ध गरी उनको स्मरण गर्दछन्।

यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ । धर्मशास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिएको छ।

आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ । पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ ।

आज बिहानैदेखि दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा मेला लागेको छ । आमा नहुने नरनारी उक्त कुण्डमा स्नान तथा हरिहर ९विष्णु र शिव०को दर्शन र पूजाअर्चना गरिरहेका स्थानीय नवीन न्यौपानेले बताए। मातातीर्थ कुण्डमा स्नान गरेमा मातृऋणबाट मुक्त हुने जनश्रुति छ।