बैतडीमा जिप दुर्घटना ७ जना घाइते

बैतडी । बैतडीमा आज बिहान जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। धनगढीबाट बैतडीको तल्लादेही आइरहेको सुपप्र ०२००१ ज ३८५ नम्बरको जिप सत्बाज–गोकुलेश्वर सडकखण्डको सिदुनमा बिहान करिब २ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परी जिपमा सवार ७ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका– ९ तल्लादेहीका २७ वर्षीय दिपक पार्की, उनका ८ वर्षीय छोरा छोरा प्रदीप पार्की, सोही ठाउँका ४९ वर्षीय धनजीत पार्की, उनकी १५ वर्षीया छोरी रेखा पार्की र सोही ठाउँकी २२ वर्षीया कृष्णा पार्की, डिलाशैनी गाउँपालिका ४ तडीबटाका ३३ वर्षीय करबीर सार्की र ७४ वर्षीय मनोरी सार्की रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए ।

उनका अनुसार घाइतेमध्ये प्रदीप र पार्कीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ भने अन्यको घाइतेको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।

जिप अनियन्त्रित भएर सडकबाट अन्दाजी ६५ मिटर तल खसेको प्रहरीले जनाएको छ । जिप चालक पुर्चौंडी नगरपालिका–९ तल्लादेहीका २३ वर्षीय सुरेन्द्र पुजारा फरार रहेका प्रहरी निरीक्षक जोशीले बताए । जिपमा कति जना सवार थिए भन्ने यकिन भएको छैन । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।