ओलीको उक्साहटमा प्रचण्ड: नक्सा विवादले नेपाल र भारत आम्ने साम्ने,बाबुरामको असन्तुष्टि

फाइल तस्बिर

काठमाडौं। करिब ५ वर्षअघि सुरु भएको नेपाल–भारत ‘नक्सायुद्ध’ पुनः एकपटक सतहमा आएको छ। भारतले सन् २०१९ मा नेपालको सहमतिबिना एकतर्फी रुपमा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई आफ्नो नक्सामा देखाएको थियो।

त्यसको विरोधमा काठमाडौँमा थुप्रै प्रदर्शन भए र सामाजिक सञ्जालमार्फत पनि विरोध गरियो। त्यसको एक वर्षपछि नै तत्कालीन प्रधानमन्त्री केपी ओलीको पहलमा नेपाल सरकारले कालापानी,लिपुलेक,लिम्पियाधुरा समेटेर नेपालको नयाँ नक्सा जारी गरियो।

त्यसपछि भारतीय पक्षले उक्त नक्सा अमान्य हुने भन्दै विरोध जनायो। त्यहीबेला चर्किएको दुई देशबीचको नक्सा विवाद भित्रभित्रै भुसको आगोजसरी सल्किरहेको छ। बेलाबेला त्यो आगो सतहमा देखिन्छ।

यही वैशाख २० गते पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १०० रुपैयाँको नोटमा रहेको पुरानो नक्सा अध्यावधिक गरी नयाँ चुच्चे नक्सा समेट्ने निर्णय गरेसँगै यो विषय फेरि चर्चामा आएको हो।

सरकारको उक्त निर्णयपछि भारतीय विदेश मन्त्रालयले त्यसमाथि टिप्पणी गरिसकेको छ। भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालले एकतर्फी नक्सा प्रयोगमा ल्याए पनि भूमिको वास्तविकता परिवर्तन नहुने जवाफ दिएका छन्।

संयोग के छ भने तत्कालीन माओवादी–एमाले एकता भएर नेकपा बनेको थियो र नेकपाकै अध्यक्ष एवं प्रधानमन्त्री ओलीले नक्सा जारी गर्न लगाएका थिए। अहिले पुनः माओवादी–एमाले सम्मिलित सरकारले उक्त नक्सालाई रु १०० को नोटमा समावेश गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री प्रचण्ड भए पनि यसमा पर्दापछाडि एमाले अध्यक्ष ओलीको निर्देशन र दबाब रहेको हुनसक्ने विश्लेषण भइरहेका छन्। साथै नेपाली राजनीतिक वृत्त र भारतमा नक्सा विवादबारे विभिन्न टीका–टिप्पणी सुरु भएका छन्।

यसै क्रममा पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाल र भारतबीचको सीमा विवाद समष्टिगत रुपमा हल गर्न आवश्यक रहेकोले उत्तेजनामा आएर नक्सा विवाद मच्चाउनु ठीक नहुने बताएका छन्। १०० को नोटमा नयाँ नक्सा राख्ने सरकारको निर्णयलाई उनले ‘अनावश्यक बहस र विवाद चर्काउने कुरा’ भनेका छन्।

इपीजी वा नयाँ किसिमको संयन्त्रबाट या त युद्ध लडेर अथवा कुटनीतिक तरिकाबाट मात्र उक्त सीमा विवाद हल हुने बाबुरामको टिप्पणी छ।

तर सत्तारुढ दलका नेताहरु भने नेपालको नयाँ नक्साबारे अनावश्यक चासो राख्न नहुने बताउँछन्। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाली भूमि भएको नक्सा नेपाली नोटमा राख्ने कुरामा भारत सरकारले आपत्ति जनाउन आवश्यक नभएको बताएका छन्।

उनले नेपालको संविधान बमोजिमको भूमिलाई कहाँ र कसरी प्रयोग गर्ने भन्नेकुरा नेपालको निजी मामिला भएको भन्दै छिमेकीले आपत्ति जनाउन नमिल्ने बताए।

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएको विषयमा भारतले प्रश्न गर्नु नै जायज नभएको उनको टिप्पणी छ। नेपाल सरकारले संविधान बमोजिम गरेको कुरामा आदेश वा निर्देशन दिने अधिकार कसैलाई नभएको उनी बताउँछन्।

यस्तै सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले नेपाल सरकारको निर्णयमा भारतले प्रतिक्रिया दिनु कुटनीतिक मर्यादा विपरित भएको बताए।

नेपालको नोटमा के राख्ने र के नराख्ने भन्ने कुरा नेपाल स्वयंको विषय भएको बताउँदै उनले भारतका विदेशमन्त्रीले असन्तुष्टि जनाउनु कुटनीतिक मर्यादा विपरीत भएको बताएका हुन्।

तत्कालीन ओली नेतृत्वको सरकारले २०७७ जेठ ७ गते नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो। तत्कालीन भूमिसुधार मन्त्री पद्मा अर्यालले सरकारको उक्त कदमलाई ‘यो युगको सर्वाधिक उत्कृष्ट क्षण’ भनेकी थिइन्।

तर सोही दिन भारतीय विदेश मन्त्रालयले कालापानी,लिपुलेक,लिम्पियाधुरालाई भारतीय भूभागहरू भन्दै नेपालले जारी गरेको नक्सा तथ्य र प्रमाणमा आधारित नरहेको प्रतिक्रिया दियो।

नक्सासम्बन्धी अनुचित दाबी नगर्न र भारतको सार्वभौमिकता तथा भौगोलिक अखण्डतालाई सम्मान गर्न नेपाल सरकारसामु आह्वान समेत गरेको थियो।

तर नेपालले भने उक्त नक्सालाई संविधानमै समावेश गर्नका लागि जेठ ३१ गते संसदको दुईतिहाइ बहुमतले संविधान संशोधन ग¥यो। त्यसपछि संविधानमा रहेको अनुसूची र निशाना छापमा चुच्चे नक्साले आधिकारिकता पायो।

कतिपय भारतीय विद्वानले भने भारतले नै एकतर्फी नक्सा पहिला जारी गरेर नक्सायुद्ध सुरु गरेको टिप्पणी गर्दै दुई देशबीचको वार्ता र सहमतिबाट सीमाविवाद समाधान गर्न सुझाव दिएका थिए।

तत्कालीन अंग्रेज इस्ट इन्डिया कम्पनी र नेपालबीच सन् १८१६ मा भएको सुगौली सन्धिले नेपालको पश्चिमी सिमानालाई परिभाषित गरेको छ।

सुगौली सन्धिले काली नदीको उद्गम बिन्दुलाई परिभाषित गर्दै त्यसैलाई नेपाल–भारत सिमाना मानेको छ। तर काली नदीको स्रोतबारे दुई देशबीच मतभेद छ। सोही विवादमा टेकेर भारतले लिम्पियाधुरा,कालापानी र लिपुलेक क्षेत्र आफ्नो कब्जामा राखेको छ।