प्रधानमन्त्रीलाई भ्रममा पारेर जसपा फुटाइयो: उपेन्द्र यादव

फाइल तस्वीर

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीलाई समेत भ्रममा पारेर आफ्नो दल फुटाइएको दाबी गरेका छन्।

आफ्नो दलबाट फुटेर अशोक राईको नेतृत्वमा गठन भएको नयाँ दल जनता समाजवादी पार्टी अवैधानिक भएको समेत उनले दाबी गरे।

उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका यादव अमेरिका भ्रमणमा रहेका बेला जसपा फुटेको थियो । अशोक राईको नेतृत्वमा नयाँ दल निर्वाचन आयोगमा दर्ता भएको छ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा जसपा अध्यक्ष यादवले नयाँ दल दर्ता असंवैधानिक भएको बताए। राजनीतिक दलसम्बन्धी कानुन नभएको अवस्थामा रातारात दल दर्ता गरेको भन्दै उनले यसविरुद्ध अदालत जाने समेत बताए।

काँग्रेस र एकीकृत समाजवादीसँग मिलेर नयाँ सरकार बनाउन खोजेको हल्ला गलत भएको उनले दाबी गरे।

यो सरकार बनेदेखि काँग्रेसका कसैसँग भेट समेत नभएको भन्दै यादवले भने,यो सरकार ढालेर अर्को सरकार बनाउँदै छ भन्ने अत्यन्त कपोलकल्पित हल्ला थियो । त्यस किसिमको कुनै आवश्यकता पनि थिएन,प्रयास पनि थिएन।