एमसीसीको पहिलो ठेक्का लाग्यो

काठमाडौं। एमसीए–नेपालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को अनुदानमा बन्ने न्यू बुटवल सबस्टेसन निर्माणका लागि ठेक्का सम्झौता गरेको छ । यो एमसीसी परियोजनाअन्तर्गत निर्माणसम्बन्धी पहिलो ठेक्का हो।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा निर्माण हुने ४०० केभी न्यू बुटवल सबस्टेसन निर्माणको लागि लिङ्कसन इण्डिया प्रालिसँग एमसीए नेपालले बिहीबार ठेक्का सम्झौता गरेको हो। सम्झौताअनुसार सबस्टेसनको निर्माण ३९ महिनाभित्र सम्पन्न गर्नुपर्ने छ।

नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्प्सन,नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उपस्थितिमा नवलपरासीमा आयोजित समारोहमा एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र लिङ्कसन इण्डियाका प्रतिनिधिले हस्ताक्षर गरे।

कार्यक्रममा राजदूत थम्प्सनले नेपालको ऊर्जासम्बन्धी आवश्यकता सम्बोधनका लागि कम्प्याक्ट उपयोगी रहेको र यसको निर्माण सुनिश्चित गर्न अमेरिकी सरकार नेपाल सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताए।

यो सबस्टेसन नेपाल विद्युत् प्राधिकरणको प्राथमिकतामा रहेको संरचना रहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। यो सबस्टेसनले सीमापार ऊर्जा व्यापारमा उल्लेख्य योगदान गर्ने तथा विद्यमान २२० केभी सबस्टेशनलाई सघाउने पनि उनले बताए।

कार्यक्रममा एमसीए–नेपालका कार्यकारी निर्देशक विष्टले एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनका क्रममा भइरहेका समष्टिगत प्रगतिबारे जानकारी गराएका थिए।

एमसीए–नेपालले यो परियोजनाअन्तर्गत तीनवटा सबस्टेसन निर्माण गर्दै छ। बाँकी दुई सबस्टेसन नुवाकोटको रातमाटे र तनहुँको दमौलीमा निर्माण हुँदैछन्। यी दुई सबस्टेसन निर्माणका लागि पनि प्राविधिक रुपमा योग्य ठेकेदारले पेश गरेको वित्तीय प्रस्ताव खोलिसकिएको छ।