देउवा–ओलीको दूरी बढ्दै,प्रचण्डलाई फाइदै फाइदा

pकाठमाडौं। २०७९ सालको आमनिर्र्वाचनपछि पहिलो र दोस्रो दलले नै सरकार बनाउन नसकेपछि आएको बहस हो–स्थिरताका लागि कांग्रेस–एमाले एकता। तर स्थिरताभन्दा बढी सत्ताकै वरिपरि घुम्ने र वर्गसत्रुलाई पनि सत्तारोहण गर्न मित्र बनाउने प्रवृत्तिले यो सम्भावना तत्कालका लागि समाप्त भएको छ।

तेस्रो सिटको माओवादीले एमाले र कांग्रेसलाई फनफनी घुमाइरहेको अवस्थामा स्थिरताका लागि कांग्रेस र एमाले मिल्नुपर्ने आवाज पुरानो हो।

कांग्रेसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्बन्ध बिग्रिन लागेका बेला सौहार्दपूर्ण रहेको कांग्रेस–एमालेको सम्बन्ध अहिले त्यति सहज अवस्थामा छैन।

केपी शर्मा ओलीले शेरबहादुर देउवालाई संसदबाटै मिल्ने प्रस्ताव गरेपछि झस्किएका प्रचण्डले प्रधानमन्त्रीबाट हटाइए जनता कहाँ जाने घोषणा पनि संसदबाटै गरिसकेका थिए।तर त्यसबेला देखिएको कांग्रेस–एमाले मिलनको सम्भावना अहिले भने कमजोर बन्दै गइरहेको छ।

शेखर कोइराला लगायतका नेताहरुले ओलीलाई भेटेरै पहिलो कार्यकाल प्रधानमन्त्री बन्न आग्रह गर्दा पनि ओलीले प्रस्ताव स्वीकार गरेनन् बरु प्रचण्ड नेतृत्वकै सरकार जोगाउन जसपामा फुट ल्याए।

यसले कांग्रेस–एमाले मिलनको सम्भावना तत्कालका लागि सकिएको संकेत गर्छ। कांग्रेस पनि अहिले एमालेसँग मिल्नेबारे कुुनै छलफल नभएको दाबी गरिरहेको छ।

के कारण छन् जसले एमाले–कांग्रेसको दूरी बढायो 

कांग्रेसले ओलीलाई प्रधानमन्त्रीको अफर गरे पनि आफू प्रधानमन्त्री बनिहाल्नेमा ढुक्क छैनन्। किनभने अहिले प्रयोग भइरहेको संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री बनेका प्रचण्डको सरकार ढल्ने बित्तिकै ठूलो दलको हैसियतमा शेरबहादुुर देउवा प्रधानमन्त्री बन्ने छन्।

ओली प्रधानमन्त्री बन्नका लागि प्रचण्डले राजीनामा दिनुुपर्नेछ। जुन सम्भव छैन। आफू प्रधानमन्त्री बन्न संवैधानिक जटिलता बुझेका ओलीले कांग्रेसको प्रस्ताव स्वीकार गरेनन्। अहिले प्रचण्ड बोकिरहेका ओलीलाई कांग्रेस बोक्न मात्रै जानुले फाइदा हुँदैन।

कांग्रेस एमालेको दूरी बढेको अर्को घटना हो। सभामुखसँग शीर्ष नेताहरुको मंगलबारको छलफलमा ओली र देउवाको नोकझोँक। रवि लामिछानेबारे संसदीय छानविन समिति माग गरिरहेको कांग्रेसको बोली ओलीले रोक्न खोज्दा देउवा झोंक्किएका थिए।

रविभन्दा बढी उनको बचाउमा ओली उभिए पछि देउवाले ‘तपाईं को हो? हाम्रो आवाज रोक्न खोज्ने ? भन्दै थर्काउन खोजेका थिए। यसबाहेक कोशी र गण्डकीमा एमालेले असंवैधानिक गतिविधि गरिरहेकोमा समेत कांग्रेस झस्किएको छ।

कोशीमा एमालेकै समर्थनमा मुख्यमन्त्री बनेका केदार कार्कीलाई असफल पारिनु र गण्डकीको मुुख्यमन्त्री नियुक्तिमा पटक–पटक असंवैधानिक कदम एमालेले चालेको कांग्रेसलाई मन परेको छैन।

यसबाहेक जसपा फुटाउन निर्वाचन आयोगलगायत राज्यका सम्पूर्ण निकाय र शक्ति परिचालन गरेकोमासमेत कांग्रेसले एमालेको लय ठिक नभएको विश्लेषण गरेको छ।

पछिल्लो समय निर्वाचन प्रणाली र धर्म निरपेक्षता लगायतका कैयन विषयमा संविधान संशोधन र अस्थिरतामा ब्रेक लगाउन कांग्रेस–एमाले मिल्नुको विकल्प नरहेका तर्क कांग्रेसले सार्वजनिक मञ्चमै गर्दै आएको छ।

यही मुद्दालाई लिएर एमाले महासचिव शंकर पोखरेल,विष्णु रिमाललगायत र कांग्रेसका प्रमुख सचेतक रमेश लेखकसमेतका नेताहरू संवादमै छन्।

पछिल्ला राजनीतिक घटनाक्रमहरुले भने समीकरणमा अविश्वास ल्याउने र प्रचण्डलाई थर्कमान बनाउन मात्रै कांग्रेसले तत्काल मिल्ने प्रचार गरेको देखिन्छ।

यी सबै घटनाक्रमले तत्काल ओलीभन्दा पनि प्रचण्डसँगै मिल्दा उपयुक्त हुने देउवाको निष्कर्षले तत्कालका लागि कांग्रेस–एमाले सहकार्यको सम्भावना समाप्त भएको छ।