सहकारी ठगी प्रकरण: गृहमन्त्री लामिछाने सूर्यदर्शन सहकारी अपचलनको पूरक अनुसन्धानमा पनि जोडिए

काठमाडौं। पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलनको घटनामा गरिएको पूरक अनुसन्धानमा पनि गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको छ। उनको नामबाट १ करोड रुपैयाँ कर्जा लिएको देखिएको हो।

पूरक अनुसन्धानका क्रममा तयार गरिएको रिपोर्टमा कर्जाको आन्तरिक पत्र र जनरल भौचरको कागजात उल्लेख गरिएको छ।

उक्त विवरण अनुसार १ करोड रुपैयाँ कर्जाको निवेदन लामिछानेले दिएको र उक्त रकम गोर्खा मिडिया कम्पनीमा गएको देखिन्छ। यसबारे थप अनुसन्धान आवश्यक रहेको छानबिन समितिले जनाएको छ।

रिपोर्ट अनुसार गोर्खा मिडिया नेटवर्क प्रालिसँग सम्बन्धित तथा उक्त कम्पनीको नाममा भुक्तानी भएको कर्जा ५ करोड ५८ लाख रुपैयाँ देखिन्छ।

यस्तै,नेचर नेष्टसँग प्रत्यक्ष सम्बन्धित तथा उक्त कम्पनीको नाममा १ करोड ७८ लाख, नेचर हर्वसमा २ करोड ५३ लाख, गोर्खा ग्रुप मल्टी इन्भेष्टमा १ करोड १ लाख रुपैयाँ गएको देखिन्छ।

एमालेका नेता तथा सहकारीको सञ्चालक समिति सदस्यसमेत भइसकेका पोखराका व्यवसायी शिव बहादुर गुरुङउर्फ महेन्द्र भोटेसँग जोडिएको कर्जा १७ करोड ७ लाख ८३ हजार देखिएको छ भने कर्मचारी पेस्की खाता मार्फत २२ हजार १ सय रुपैयाँ खर्च गरेका छन्। १७ करोड ८ लाख रुपैयाँमा उनै भोटे जिम्मेवार हुनुपर्ने रिपोर्टमा उल्लेख छ।