अमेरिकामा पहिलो अभ्यास खेल नेपालले जित्यो

काठमाडौं । नेपालले अमेरिकामा पहिलो अभ्यास खेल खेलमा जित हासिल गरेको छ । आइसिसी टी–२० विश्वकप खेल्न अमेरिकामा रहेको नेपालले गएराति ह्युस्टन हुरिकेनलाई ६ रनले पराजित गरेको हो ।

नेपालले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा ह्युस्टनले ८ विकेट गुमाएर १४० रनमात्रै बनायो । नेपालका लागि सोमपाल कामी र करण केसीले २/२ विकेट लिँदा रोहित पौडेल, अभिनाष बोहरा, सागर ढकाल र कुशल भूर्तेलले १/१ विकेट लिए । पहिले ब्याटिङ गरेको नेपालका लागि अनिल साहले सर्वाधिक ४७ रन बनाए ।

त्यस्तै गुल्सन झाले २०, सन्दीप जोराले २१, कप्तान रोहित पौडेलले २३, कुशल मल्लले १२ र करण केसीले नट आउट १० रन जोडे । ओपनर आशिफ शेख ४ रन बनाएर आउट हुँदा कुशल भूर्तेल एक रनमै पेभिलियन फर्के। ह्युस्टनसँग नेपालले आइतबार बिहान दोस्रो अभ्यास खेल खेल्नेछ। त्यसपछि नेपालले विश्वकप खेल्ने देशसँग औपचारिक अभ्यास खेल्नेछ।

नेपालले जेठ १४ (मे २७)मा क्यानडा र जेठ १७ (मे ३०)मा अमेरिकासँग खेल्ने तालिका छ। नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जेठ २२ अमेरिकाको डालास र जेठ २९ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ। बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ।

अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी–२० विश्वकप २०२४ संयुक्त रूपमा आयोजना गर्न लागेका हुन्। पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा पनि हुन लागेको टी–२० विश्वकपमा २० टोलीले सहभागिता जनाउँदैछन्।