कैलाश सिरोहिया अस्पताल भर्ना

जनकपुरधाम। नागरिकता प्रकरणमा प्रहरी हिरासतमा पुगेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन्। उच्च रक्तचापका कारण उनी अस्पताल भर्ना भएको बताइएको छ।

धनुषा प्रहरीका प्रवक्ता डिएसपी रञ्जन अवालेका अनुसार उच्च रक्तचापका कारण सिरोहियालाई काव्या अस्पतालमा उपचारका लागि भर्ना गरिएको हो।

सिरोहिया भर्ना भएको काव्या अस्पताल मधेश प्रदेशकै सुविधा सम्पन्न अस्पताल मानिन्छ। हिरासतमा बसाइ असहज भएपछि उनी अस्पतालमा भर्ना भएको बुझिएको छ।

सुरुमा उनलाई प्रादेशिक अस्पताल लगिएको थियो। तर, त्यहाँबाट रेफर गरेपछि काव्या अस्पताल लगिएको धनुषा प्रहरीले जनाएको छ। स्वास्थ्यमा सुधार भएपछि पुनः हिरासतमा राखिने प्रहरीको भनाइ छ।

धनुषा जिल्ला अदालतको अनुमति लिएर अनुसन्धानका लागि मंगलबार सिरोहियालाई काठमाडौंस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाटै उनलाई पक्राउ गरिएको थियो। शुक्रबार अदालतले उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई पुनः तीन दिनको म्याद दिएको छ।