ओली र देउवाको अन्तिम लडाइ: काँग्रेसलाई बोल्न नदिने ,पेलेरै जाने सभामुखको दाउ

काठमाडौं। अघिल्लो हप्ताको बुधबार (जेठ २ गते) एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष केपी ओलीले काँग्रेसलाई अब संसदमा बोल्न नदिइने बताएका थिए।

गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति माग गर्दै लगातार संसद अवरोध गर्दै आएपछि र संसदमा उद्दण्ड रुपमा काँग्रेस सांसदहरु प्रस्तुत भएपछि आक्रोशित भएका ओलीले अब काँग्रेस बोल्न नपाउने बताएका थिए।

गृहमन्त्री रविलाई बोल्न समेत नदिएको काँग्रेसले अति गरेपछि सत्तापक्ष समेत पेलेरै अघि बढ्न खोज्यो। काँग्रेसकै नाराबाजीका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत समेत लिए।

ओलीले काँग्रेसले पाखुरा देखाएको भरमा, मसालको राजनीति गरेको भरमा आफूहरु नलत्रिने बताएका थिए। रविमाथि आरोप हो भने उनले बोल्न र सफाइ दिन पाउनुपर्ने भन्दै ओलीले आफूहरु पनि बोल्ने तर काँग्रेसले एकोहोरो बोल्न नपाउने बताएका थिए।

कांग्रेस बोल्दा हामी सुन्नुपर्ने तर हामी बोल्दा काँग्रेस कराउने,नसुन्ने पनि हुन्छ ? भन्दै उनले प्रश्न उठाएका थिए। कांँग्रेसले सधैँ संसद रोकेर अब नरोकिने ओलीको चेतावनी थियो।

ओलीको आक्रोशपछि बसेका सबै संसद बैठकमा काँग्रेसलाई पेलेरै सभामुख अघि बढेका छन्। शुक्रबार पनि उनले काँग्रेस सांसदहरुलाई बोल्न समय दिएनन्।

काँग्रेसले सधैँ एउटै कुराको रोइलो मच्चाएपछि बजेट ल्याउनुपर्ने दबाबमा रहेको सत्तापक्ष फेरि पनि पेलेरै जाने मनस्थितिमा देखिएको छ। शुक्रबार कांग्रेस सांसदहरुले बोल्नका लागि समय माग्दा सभामुखले शून्य समय वा विशेष समय नरहेको भन्दै बैठकलाई कार्यसूचीमा अघि बढाउन खोजेका थिए।

अघिल्ला बैठकहरूमा आफूले कांग्रेस सांसदहरूलाई बोल्न दिँदा नै समस्या बढेको भन्दै सभामुखले अब त्यस्तो एकोहोरो बोल्न दिने समय नरहेको बताए। काँग्रेस सांसदहरु विश्वप्रकाश शर्मा, रमेश लेखक, सुशीला थिङसँग सभामुखको सवालजवाफ नै पयो।

यसअघि लगातार काँग्रेसलाई बोल्न दिइएको तर आज समय नरहेको सभामुखले बताउँदा पनि काँग्रेस सांसदहरुले मानेनन्। त्यसपछि रिसाउँदै सभामुखले संसद बैठक १३ गतेसम्मका लागि स्थगित गरे।

बोल्न नपाएपछि काँग्रेस सांसदहरुले सभामुख सत्तापक्षको इसारामा चलेको आरोप लगाएका छन्। बैठक नै स्थगित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस सांसद प्रदीप पौडेलले सभामुखले आफूहरूलाई बोल्नै नदिएको र संसद प्रतिपक्षको हुन्छ भन्ने संसदीय मान्यताकै उल्लंघन गरेको आरोप लगाए।

तर सत्तारुढ दलका सांसदहरुले भने काँग्रेसको आरोपको खण्डन गरेका छन्। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले काँग्रेस सांसदहरुको अवरोधका कारण आफूहरुले पनि बोल्न नपाएको बताए।

काँग्रेसले विगतमा आफू बोल्ने र संसद अवरोध गर्ने तर अरुलाई बोल्नै नदिने गरेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए। उनले कार्यव्यवस्था परामर्श समितिको सल्लाहमा काँग्रेस सांसदहरुलाई बोल्न नदिने नभनिएको स्पष्ट पारे।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रतिपक्षलाई संसदमा बारम्बार बोल्न दिइएको बताए । समस्या समाधानका लागि प्रधानमन्त्रीले प्रयास गरिरहेको र कार्यदलले पनि चाँडै निचोड निकाल्ने उनको भनाइ छ।

माओवादीकै सांसद लेखनाथ दाहालले नेपाली काँग्रेसको अवरोधका कारण महिनौँदेखि आफूहरु समेत संसदमा बोल्न नपाएको गुनासो गरे। कांग्रेस सांसदहरुले अरु सांसदको मौलिक हकको अपहरण गरेको उनको आरोप छ।

सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन गठित कार्यदलमा सहमति जुट्न सकेको छैन।

काँग्रेसले समग्र सहकारीको समस्याभन्दा पनि गृहमन्त्री रवि लामिछानेलाई मात्रै केन्द्रित गर्न खोज्दा कार्यदलका बैठक निष्कर्षविहीन हुँदै आएका छन्। यद्यपि शुक्रबार काँग्रेस लचिलो रुपमा प्रस्तुत भएको र आइतबारसम्म सहमति जुट्ने एमालेका प्रमुख सचेतक बर्तौलाको भनाइ छ।