रविलाई सडकबाटै तह लगाउने कांग्रेसको दाउ,औला उठाए भाची दिने धम्की

काठमाडौं। सहकारी पीडितको मुद्दा उठाएर भ्रातृ सङ्गठनले गर्दै आएको आन्दोलनको प्रभाव खास्सै नदेखिएपछि कांग्रेस आफै आन्दोलनको गृहकार्यमा जुटेको छ। प्रचण्डले दिएको धोका र सदनमा सरकारले गरेको व्यवहारको बदला लिने तयारीमा रहेको कांग्रेस सडक सङ्घर्षमा उत्रिन लागेको हो।

सदनमा भइरहेको अवरोधको निकास संवादबाट हुन नसकेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस अब जोडतोडले सडक सङ्घर्षतिर होमिएको छ।

सहकारी पीडितको मुद्दालाई लिएर निरन्तर संसद्मा हङ्गामा मच्चाउँदै आइरहेको कांग्रेसले अब आइतबार काठमाडौं केन्द्रित आन्दोलन गर्दैछ।

सहकारी ठगीको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन माग गर्दै सदन अवरुद्ध गरेको कांग्रेसले काठमाडौं उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधिसमेत खटाइसकेको छ।

यसअघि पनि नेपाल विद्यार्थी सङ्घ, महिला सङ्घ र तरुण दल जस्ता भ्रातृ सङ्गठनलाई कांग्रेसले सडकमै उतारे पनि त्यसबाट खास्सै प्रभाव नपरेपछि सानेपाले आफ्नै नेतृत्वमा आन्दोलनको तयारी थालेको हो।

पार्टीका केन्द्रीय प्रतिनिधिलाई नै संयोजक बनाएर कार्यकर्ता तिखार्न लागिपरेको कांग्रेसले शुक्रबार त्यसै अनुसारको कार्यकर्तालाई प्रशिक्षण नै दिएको छ।

कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सहकारीपीडितको मुद्दा लिएर सडकमा उत्रिने निर्णय गरेपछि पार्टी आन्दोलनका लागि कार्यकर्ता तयार पार्न जुटिरहेको छ।

आन्दोलनभन्दा पनि विरोध प्रदर्शन भत्र रुचाइरहेको कांग्रेस सरकारलाई चेतावनी र जनतालाई जानकारी दिने हिसाबले सडक सङ्घर्षमा जान लागेको बताउँछ।

प्रधानमन्त्रीको ललिपपमा लोभिएर टाउकोको मूल्य तोक्नेसँग नै कुम जोड्न पुगेको कांग्रेस अहिले फेरि उनीहरूकै औँला भाच्नु पर्ने अवस्थामा आइपुगेको छ।

जङ्गलमा भएको माओवादीलाई कांग्रेसले नै सत्ताको कुर्सीमा बसाएको र अहिले आफूहरूलाई नै चोरी औँला उठाइरहेको हुँदा बिना कारण उठाएको त्यही चोरी औंलालाई भाच्न पछि नहट्न कांग्रेसले प्रशिक्षण दिइरहेको छ।

सदनबाट निकास खोज्न नसकेको कांग्रेसले अन्तिम विकल्पको रूपमा सडकबाट नै सहकारीको मुद्दालाई पार लगाउन खोजिरहेको छ।

गत आमनिर्वाचन ताका रूख भनेकै हसियाँ हथौडा र हसियाँ हथौडा भनेकै रूख हो भन्दै चुनाव अघि नै माओवादीसँग गठबन्धन गरेको कांग्रेसले अहिले त्यही माओवादीले नेतृत्व गरिरहेको सरकारलाई कम्युनिस्टहरूको अतिवाद भएको संज्ञा दिइरहेको छ।

पाँच वर्षसँगै हिँडेर गन्तव्यमा पुग्ने वाचा गरेको कांग्रेसले गन्तव्यमा पुग्नु अघि बीच बाटोमै साथ छोडेको र सदनमा सरकारको पेलानमा परेर उग्र बनेको कांग्रेसले सडक सङ्घर्षबाटै त्यसको बदला लिने सङ्केत गरेको छ।

आफूमाथि उठेका औँला भाच्नु पर्नेसम्मको छलफल कांग्रेसभित्र भइरहँदा त्यसले विरोध प्रदर्शनभन्दा पनि बढी हिंसात्मक गतिविधिलाई बल दिने सङ्केत गरेको छ।