सवारीसाधनमा प्रदूषण जाँचपास गरी ७ दिनभित्र हरियो स्टिकर राख्न कामपाको निर्देशन

काठमाडौं। काठमाडौँ महानगरले ७ दिनभित्र सवारीसाधनमा प्रदूषण जाँचपास गरी हरियो स्टिकर र सवारीसाधन दर्ता प्रमाणपत्र (ब्लुबुक) अनिवार्य रूपमा राख्न निर्देशन दिएको छ। महानगरले आज एक सूचना जारी गर्दै महानगरपालिकाको नाम दर्ता कायम भई विभागर सचिवालयरआयोजनारएकाइ र वडा कार्यालय अन्तर्गत प्रयोग तथा सञ्चालनमा रहेका सवारी साधनमा उक्त व्यवस्था गर्न निर्देशन दिएको हो।

‘काठमाडौँ महानगरको नाम दर्ता कायम भई तहाँ विभागरसचिवालयरआयोजनारएकाइरवडा कार्यालय अन्तर्गत प्रयोग तथा सञ्चालनमा रहेका सवारीसाधनमा प्रदूषण जाँचपास गरी सात दिनभित्र हरियो स्टिकर र सवारीसाधन दर्ता प्रमाणपत्र अनिवार्य रूपमा राख्नुहुन अनुरोध छ’, सूचनामा उल्लेख छ।

समयमै सवारीसाधनको प्रदूषण जाँचपास गरी हरियो स्टिकर राखेबापत लाग्ने दस्तुर रकम शोधभर्ना स्वरूप कार्यालयबाट उपलब्ध गराइने महानगरपालिकाले जनाएको छ।

यसैगरी महानगरपालिकाका प्रमुख बालेन साहले अहिले सबैको ट्राफिक प्रहरीको सहकार्यका सवारीसाधनको प्रदूषण जाँच गर्दै आएको बताएका छन्।

‘के तपाईंको सवारीसाधन को अवस्था ठिक छ’, उनले सामाजिक सञ्जालबाट भनेका छन्, ‘प्रदूषणको मात्रा धेरै छ, अवस्था ठिक छैन भने सवारीसाधनलाई मर्मत सरसफाइ गराउनु होला, हामी ट्राफिक प्रहरीको सहकार्यमा सवारीसाधनहरूको प्रदूषण जाँच गरिराखेको छौँ।’

कति हुनुपर्छ मापदण्ड 

महानगरका प्रमुख साहका अनुसार महानगरले वातावरण सुधारका लागि वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७, प्रदूषण नियन्त्रण मापदण्ड २०८१, फोहरमैला संकलन तथा ढुवानी कार्यविधि २०८१ जारी गरेको छ।

मापदण्डमा पेट्रोलबाट चल्ने सवारीसाधन र डिजेलबाट चल्ने सवारीसाधन र निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखिएको छ। सन् १९८० सम्म उत्पादन भएका चारपाङ्ग्रे सवारीसाधनको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ। सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारीसाधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ३ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ।

तीन पाङ्ग्रे सवारीको हकमा सन् १९९१ सम्म उत्पादन भएका सवारीसाधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ। दुई पाङ्ग्रे सवारीसाधनको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम)हुनुपर्छ।

‘सन् १९९४ सम्म उत्पादन गरिएका सबै किसिमका डिजल सवारीसाधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ७५ हर्टिज स्मोक युनिट (एचएसयु) हुनुपर्छ’, उनले भने, ‘सन् १९९५ वा त्यसभन्दा पछि उत्पादन भएका सवारीसाधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ६५ हर्टिज स्मोक युनिट (एचएकयु) हुनुपर्छ। जाँचका क्रममा तोकिएको एकाइभन्दा माथिल्लो अङ्क देखियो भने प्रदूषण मापदण्ड बाहिर हुन्छ।