सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत,साउनको तलब बढेर आउँदै
काठमाडौं। सरकारी कर्मचारीहरुको नयाँ तलबमान स्वीकृत भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी कर्मचारीहरुको नयाँ तलबमान स्वीकृत गरेर पठाएको हो।
चालु आर्थिक वर्षको बजेटमार्फत सरकारी कर्मचारीको तलब बढाउने घोषणा गरिएको थियो। सोही घोषणा अनुसार अर्थ मन्त्रालयले नयाँ तलबमान स्वीकृतिका लागि साउन ६ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाएको थियो।
अन्ततः प्रधानमन्त्री कार्यालयले सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको छ। योसँगै सरकारी कर्मचारीको बढेको तलब साउन १ गतेदेखि लागू हुनेछ।
नयाँ तलबमान अनुसार सबैभन्दा धेरै तलब मुख्य सचिवको छ। अब मुख्य सचिवले ९० हजार ५ सय ९४ रुपैयाँ तलब पाउनेछन्। त्यस्तै, सबैभन्दा कम तलब प्रथम स्तरका कार्यालय सहयोगीले २८ हजार ९ सय ८४ रुपैयाँ पाउनेछन्।
त्यस्तै, नेपाली सेनाका प्रधान सेनापतिले पनि मुख्य सचिव सरह तलब पाउनेछन् भने नेपाली प्रहरीका महानिरीक्षकले ८४ हजार ५ सय ७६ रुपैयाँ तलब पाउनेछन्।
