आरआर क्याम्पसमा स्ववियु गठन: सचिवमा शैलेन्द्र उपाध्याय,सभापतिमा लोकेश खड्का
काठमाडौं। रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा विवादित बनेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अन्ततः सर्वदलीय सहमतिमार्फत गठन गरिएको छ। निर्वाचन हुन नसकेको अवस्थामा बुधबार सम्पन्न सर्वदलीय छलफलले २१ सदस्यीय स्ववियु सर्वसम्मत रूपमा चयन गरेको हो।
स्ववियुको सचिव पदमा नेपाली विद्यार्थी संघ (नेविसंघ)का शैलेन्द्र उपाध्याय चयन भएका छन्। तोकिएको मितिमा स्ववियु निर्वाचन हुन नसकेपछि क्याम्पसमा उत्पन्न अन्योल समाधान गर्न सर्वदलीय बैठक आह्वान गरिएको थियो। सोही बैठकबाट उपाध्यायलाई सचिवको जिम्मेवारी दिइएको हो।
यसैगरी, सभापतिको जिम्मेवारी अनेरास्ववियुका लोकेश खड्कालाई दिइएको छ भने उपाध्यक्षमा अखिल ९क्रान्तिकारी०का संगम कुमार लामा तामाङ चयन भएका छन्। बाँकी सदस्यहरू पनि विभिन्न विद्यार्थी संगठनको सहभागितामा सर्वसम्मत रूपमा चयन गरिएको जनाइएको छ।
गत चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचन विवादका कारण स्थगित भएपछि आरआर क्याम्पसमा स्ववियु नेतृत्वविहीन अवस्था रहेको थियो। विद्यार्थी संगठनहरूबीचको मतभेदले गर्दा चुनाव सम्पन्न हुन नसकेपछि पाटन उच्च अदालतले चुनाव गराउन आदेश दिएको थियो।
उक्त आदेशलाई कार्यान्वयन गर्न क्याम्पस प्रशासन र विद्यार्थी संगठनहरूको सहमतिमा छलफल आयोजना गरिएको थियो। अन्ततः बुधबारको बैठकबाट साझा सहमतिमा स्ववियु गठन गरिएको हो।
क्याम्पस प्रशासनले सर्वसम्मत नेतृत्व गठनले विद्यार्थीको प्रतिनिधित्व सुनिश्चित भएको बताएको छ। नवगठित स्ववियुले विद्यार्थीको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।
