शंकास्पद कन्टेनरसहित आठ चालक नियन्त्रणमा
मुस्ताङ। मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित पर्यटक चेकपोष्टबाट प्रहरीले शंकास्पद कन्टेनरसहित आठ जना चालकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले अवैध वस्तु ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा शुक्रबार दिउँसो करिब १२ बजे जोमसोम पर्यटक चेकपोष्टमा विभिन्न कन्टेनरका कागजात जाँच तथा चालकसँग सोधपुछ गरेको थियो।
जाँचका क्रममा ती कन्टेनरहरू भन्सार यार्डमा आवश्यक चेकजाँच नगरी सिधै सिल लगाएर ल्याइएको पाइएको प्रहरीले जनाएको छ। त्यसपछि कन्टेनरभित्र अवैध वस्तु हुन सक्ने आशंका भएपछि प्रहरीले आठवटै कन्टेनर र चालकलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका कन्टेनर तथा चालकलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि प्रहरी टोलीसहित राजस्व अनुसन्धान कार्यालय, हरिहरभवन, ललितपुर पठाइएको छ।
कन्टेनरभित्र के–कस्ता वस्तु रहेको भन्ने विषयमा राजस्व अनुसन्धान कार्यालयबाट थप जाँच तथा अनुसन्धान हुने प्रहरीले जनाएको छ।
