नक्कली डकुमेण्ट र झुट्टो बैंक ब्यालेन्सको आडमा अमेरिका,अस्ट्रेलिया पुगिँदै, काम नपाउँदा डिप्रेसनदेखि आत्महत्यासम्म
रुषा थापा
वैदेशिक अध्ययनका निम्ति देश छोड्ने युवाहरुको संख्या वर्षेनी बढ्दो क्रममा छ । नेपालीहरु पढ्नका लागि विकसित मुलुक पलायन भएका छन् । अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापान, फ्रान्सलगायत विभिन्न विकसित देशमा लाखौं रकम खर्चिएर गइरहेका छन् । पढ्न जाँदा आम्दानीको स्रोत र बैंक ब्यालेन्स देखाउनुपर्छ ।
तर, नक्कली डकुमेण्ट तयार पारेर विदेशी क्रम पछिल्लो समय ह्वात्तै बढेको छ । जग्गा जमिन र आम्दानी केही नभएपनि पैसाको आडमा नक्कली डकुमेण्ट तयार पारिन्छ । बैंकका कर्मचारीलाई घुस खुवाइन्छ । झुट्टा बैंक ब्यालेन्स देखाउन लगाइन्छ । बचतकर्ताको रकम उसको खातामा देखाइन्छ । यसबापत बैंकका कर्मचारीले दुई लाख रुपैयाँ बुझ्छन् ।
साथै, भिसा नलागेसम्म खातामा राखिदिएको त्यो रकमको ब्याज पनि असुलिन्छ । यसरी नक्कली डकुमेण्ट र बैंक ब्यालेन्स देखाएर भिसाका लागि पठाइन्छ । अनि बैंक व्यालेन्स र आम्दानी देखेपछि अमेरिका, अस्ट्रेलिया, क्यानडालगायत देशले अध्ययनका निम्ति भिसा दिन्छन् । उनीहरुलाई के थाहा कि ती सबै डकुमेण्ट र बैंक ब्यालेन्स नक्कली हुन् । यता, विदेश उड्नेबित्तिकै उसको खाता रित्तो हुन्छ ।
किनकि उनीहरुबीच पहिल्यै यसबारे सम्झौता भएको छ । जसअनुसार त्यो व्यक्ति विदेश उड्नुअगाडि नै चेकमा हस्ताक्षर गर्न लगाइएको हुन्छ र सम्बन्धित देश पुग्नासाथ बैंकले उसको खातामा जम्मा गरिएको रकम निकाल्छ । र, सम्बन्धित खातावालाको जम्मा गरिदिन्छ । नक्कली डकुमेण्ट र झुट्टा बैंक ब्यारेन्स देखाएर अमेरिका, अस्ट्रेलिया त पुगिन्छ । तर, त्यहाँ पुगेर काम नपाएपछि अधिकांश नेपाली मानसिक समस्या तथा डिप्रेसनमा परेका छन् ।
फेरि फर्किन उसको परिवारसँग पैसासमेत छैन । विद्यार्थी भिसामा गएपछि काम पाइँदैन । काम खोज्न महिनौं भौतारिनुपर्छ । त्यसमाथि विद्यार्थी भिसामा गएकाले काम गरेको त्यहाँको सरकारले थाहा पाएमा कारबाही गर्नसक्छ । यसले त्यहाँ लुकिछिपी काम गर्नुपर्छ । एकातिर कलेजको फ्रि तिर्नुपर्ने हुन्छ, अर्कोतिर पैसा हुँदैन । अनि यही तनावले कतिपयले आत्महत्यासमेत गर्छन् भने लाश ल्याउनसमेत हैसियत परिवारको हुँदैन । नक्कली डकुमेण्ट बनाएर अमेरिका, अस्ट्रेलिया, क्यानडालगायत विकसित मुलुक पठाइदिने कन्सलट्रेन्सी थुप्रै छन् ।
पाँच लाखदेखि दश लाख रुपैयाँसम्म बुझेर उनीहरुले नक्कली डकुमेण्ट तयार पारी नेपाली विद्यार्थीहरुलाई त्यहाँ पठाउने गरेका छन् । कतिपय चाँहि भिजिट भिसामा अमेरिका, अस्ट्रेलिया जान्छन् अनि त्यतै लुकेर बस्छन् । जसका कारण अन्तर्राष्ट्रियस्तरमा नेपालको बदनाम भएको छ ।
बैंकमा भएको पैसा सर्वसाधारणको हो । तर, बैंकका कर्मचारी, सञ्चालक, अध्यक्षहरुले आफ्नो स्वार्थका निम्ति जनताको पैसा जथाभावी लगानी गरेका छन् । बचतकर्ताहरु आफ्नो पैसा बैंकमा राखेपछि भौचरको भरमा घर फर्किन्छन् । बैंकमा आफ्नो रकम सुरक्षित छ भनेर उनीहरु ढुक्क भएर घरमा बस्छन् ।
विडम्बना, बैंकका सञ्चालक, कर्मचारी र अध्यक्षले छिटो कमाउन बचतकर्ताको रकम जोखिमपूर्ण क्षेत्र वा जथाभावी लगानी गरिदिन्छन् । झुट्टा बैंक ब्यालेन्स देखाउनदेखि घरजग्गा, गाडी, सेयरजस्ता जोखिमपूर्ण क्षेत्रमा बचतकर्ताको खर्बौ रकम लगानी गरिएको छ । यसमा लगानी गर्दा बैंकका हाकिम र कर्मचारीलाई घुस आएपछि बचतकर्ताको रकम भने संकटमा पर्छ । स्मरण रहोस् कि घरजग्गा, गाडी र सेयरमै लगानी गरेका कारण सहकारी भाग्नुपर्यो ।
सहकारीमा बचत गरेका बचतकर्ताहरुको रुवाबासी भएको छ । वर्तमान सरकारमा ऊर्जामन्त्री दीपक खड्का छन् । उनले विभिन्न बैंकबाट १४ अर्ब ऋण लिएको तर साँवा ब्याज नतिरेको वर्षौ भइसक्यो भन्ने चर्चा बजारमा व्यापक छ।
यस्तै, मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनि बैंकबाट ११ अर्ब ऋण लिएका छन्। भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले विभिन्न बैंकबाट ५३ अर्ब ऋण लिएका छन् । यद्यपि, दुवैले बैंकको साँवा ब्याज नतिरेको बताइन्छ ।
यो त उदाहरण मात्रै हो । बैंकले अन्य ठूल्ठुल्ला व्यापारी तथा व्यवसायीलाई अर्बदेखि खर्बसम्म ऋण दिएको छ । अनि सर्वसाधारणले दुःखले कमाएको पैसा बैंकका हाकिम र कर्मचारीको मिलेमतोमा व्यपारी, व्यवसायीमाथि मनलाग्दी रुपमा पोस्दा सरकार भने मौन छ ।
सरकार न त्यस्ता बैंकलाई कारबाही गर्छ न बचतकर्ताको रकमको ग्यारेन्टी । किनकि भोलि त्यो व्यापारीले ऋण नतिर्नेबित्तिकै डुब्ने भनेको जनता हुन् । बैंकका सञ्चालक, अध्यक्ष र कर्मचारी त भागिहाल्छन् ।
सरकार भन्छ, ‘राज्यको ढुकुटी रित्तो छ । देशमा पैसा छैन ।’ पढ्ने नाममा वर्षेनी लाखौं विद्यार्थी विदेश पलायन भएका छन् । उनीहरुसँगै खर्बौ रकम विदेशिएको छ।
अमेरिका, अस्ट्रेलिया जान एउटै विद्यार्थीले २० देखि ३० लाख रुपैयाँसम्म खर्च गर्ने गरेका छन् । आफ्ना छोराछोरी विकसित मुलुक पठाउन अभिभावकले जायजेथा सबै बैंकमा धितो राखेर ऋण लिए । अहिले छोराछोरी त्यहाँ पुगेपनि राम्रो आम्दानी नभएपछि उनीहरुले ऋण तिर्न सकेका छैनन् ।
बैंकको साँवा ब्याज दिनहुँ बढिरहेको छ । आम्दानी चाँहि केही छैन । उनीहरु ऋण नै तिर्न नसक्ने अवस्थामा पुगिसकेका छन् । यसैले, कतिपयले त हातैसमेत उठाइसके।
आफ्नो धितो लिलाम गर्न भनिसके । तर, केही वर्षयता घरजग्गा, गाडी र सेयरमा आएको मन्दीका कारण धितो लिलाम गरेर बेचेपनि सम्पूर्ण ऋण असुलउपर हुनसक्ने अवस्था छैन ।
आफूहरुको निक्षेप बैंकले जथाभावी लगानी गरेको थाहा पाएपछि सर्वसाधारण धमाधम आफ्नो पैसा निकालिरहेका छन् । जोखिम भएपछि घरमै पैसा लुकाएका छन्। किनकि उनीहरुले सहकारीका बचतकर्ताको अवस्थामा पुग्न चाहँदैनन्।
मुलुकमा मन्दी आउनुमा बैंक, वित्तिय संस्था प्रमुख कारण हुन् । सोचविचार नगरी घुसको आडमा बैंक, वित्तिय संस्थाका सञ्चालक, अध्यक्ष र कर्मचारीहरुले जथाभावी लगानी गर्दा जनता त डुबे नै सँगै देशसमेत संकटमा परेको छ ।
गाडी छिटो कुदाएमा दुर्घटना हुनसक्छ । त्यसरी नै छिटो छिटो कमाउने लोभमा अघि बढेका बैंक, वित्तिय संस्थाका हाकिम र कर्मचारीका कारण आज देशको अर्थतन्त्र नै धरायसी अवस्थामा पुगेको छ । हुन त बैंक, वित्तिय संस्थाको नियत नै अरुलाई ठग्नु, लुट्नु हो।
बाहिर सभ्य भएर भित्रभित्रै बचतकर्ता र ऋणीलाई डुबाउने । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि भने, ‘यसअघि प्रधानमन्त्री हुँदा अहिलेजस्तो पैसाको हाहाकार थिएन ।
देशलाई यो अवस्थामा कसले पुर्यायो त ? बैंक, वित्तिय संस्थाले होइन र ! छिटो कमाउन जनताको रकम जथाभावी लगानी गरिदिए । आज देश र जनता दुवै कंगाल भएका छन् । जनता कर तिर्न त परको कुरा हो, बाँच्नसमेत नसक्ने अवस्थामा पुगेका छन् । अनि जनताले कर नतिरेपछि देशको ढुकुटी रित्तो नभएर के हुन्छ ? अर्थ मन्त्रालय र राष्ट्र बैंकले अब बैंक, वित्तिय संस्थालाई बचतकर्ताको रकम जथाभावी लगानी गर्नबाट रोक्नुपर्छ ।
